काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालयले विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीलाई पाँच वर्ष कैद सजायको माग गर्दै शुक्रबार अदालतमा मुद्दा दायर गरेको छ ।
रेग्मीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ (१) बमोजिम सजाय माग्दै सरकारी वकिलले अभियोगपत्र दर्ता गरेको हो ।
उक्त मुद्दामा दोषी ठहर भए १ लाख जरिवाना र ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ । गीतकार महेश आचार्यको उजुरीको आधारमा फागुन ८ गते थाइल्याण्डबाट नेपाल आउँदै गरेको बेला रेग्मीलाई प्रहरीको साइबर ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले अदालतबाट म्याद थप गरेको छ ।
सामाजिक सञ्जालमा चरित्रहत्या हुनेगरी निकृष्ट गालीगलौज गरेको भन्दै आचार्यले उजुरी दिएका थिए । उनको उजुरीमाथि गीतकार संघ, संगीतकार संघ, सांगीतिक संघ, संगीतकर्मी संघ, संगीत उद्योग संघ र प्रस्तोता समाजले संयुक्त विज्ञप्ति जारी गर्दै ऐक्यबद्धता जनाएका छन् । रेग्मीको उक्त कार्यले सांगीतिक क्षेत्र दुःखी भएको समेत उनीहरुले बताएका छन् ।
यस्तै, पछिल्लो समय निकै सामाजिक सञ्जालमा भाइरल बनेकी शर्मिला वाइबाले बिहीबार विष सेवन गरेर वीर अस्पताल भर्ना भएको खबर बाहिरिएपछि सामाजिक सञ्जाल झनै तातिरहेको छ ।
तर, सामाजिक सञ्जालमा शर्मिलाले विष नै सेवन गरेर आत्महत्याको प्रयास गरेको भनिए पनि अस्पतालले भने अहिलेसम्म त्यो पुष्टि गरेको छैन।
अस्पताल स्रोतका अनुसार शर्मिलाले बिस सेवन गरेको भन्ने घटना शंकास्पद देखिएको छ । किनकि वीर अस्पतालमा गरिएको शारीरिक परीक्षणमा विष सेवनको पुष्टि भएको छैन ।
बाहिर बुधबार राति करिब १ बजेतिर विष सेवन गरेकी शर्मिलालाई उपचारका लागि वीर पुर्याइएको भनिएको छ । क्रिटिकल अवस्थामा रहेकी उनलाई अस्पताल पुर्याएर तत्काल आइसीयूमा भर्ना गरिएको पनि भनिएको थियो ।
तर, अस्पताल स्रोतले बताएअनुसार शर्मिलालाई अस्पताल पुर्याउँदा उनी होसमै थिइन्, अब्जरभेसनका लागि मात्र आइसीयूमा भर्ना गरिएको हो ।
अस्पताल भर्ना गरिएको केही समयपछि शर्मिलाको रगतमा विषको मात्र कति प्रतिशत छ भन्ने परीक्षण गर्न रगत टिचिङ अस्पताल लगिएको थियो । तर, परीक्षणमा रगतमा विषको मात्रा केही नदेखिएको अस्पताल स्रोतले जनाएको छ ।
प्रतिक्रिया