काठमाडौँ । आसन्न स्ववियु निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले विभिन्न समितिहरू गठन गरेको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विद्यालयमा आगामी चैत ३, ५ र ८ गते निर्वाचन हुँदैछ ।
पार्टीले स्ववियु निर्वाचनको संयोजन, परिचालन तथा सहयोगका लागि समितिहरू गठन गरेको जनाएको छ । यसमा पार्टीले घनश्याम भुसाल संयोजक रहेको ११ सदस्यीय स्ववियु निर्वाचन संयोजन तथा वार्ता समिति गरेको छ ।
यसको सदस्यहरूमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधार, डा. विजय पौडेल, जगन्नाथ खतिवडा, राजेन्द्र राई, रामकुमारी झाँक्री, रामकुमार भट्टराई, दिलु पन्त, लक्ष्मण केसी र मोहन गौतम रहेका छन् ।
पार्टीले रामकुमार भट्टराई संयोजक रहेको ६३ सदस्यीय परिचालन समिति पनि गठन गरेको छ । त्यस्तै, पीताम्बर तिमिल्सिनाको संयोजकत्वमा १ हजार १ सय सदस्य रहेको स्वयंसेवक परिचालन समिति पनि गठन गरेको महासचिव बेदुराम भुसालले बताएका छन् ।
यस्तै, जिल्ला प्रहरी परिसर काठमाण्डाैले सभ्य एवम् सुरक्षितरूपमा होली पर्व मनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
प्रहरी परिसर काठमाण्डाैले बिहीवार एक सन्देश निकालेर होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादितरूपले मनाउन सबैलाई अनुरोध गरेको हो ।
प्रहरीले आत्मीयरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सीताराम रिजालले कसैको इच्छाविपरीत रङ, लोला, मोबिल, मोसो, केमिकल र फोहरपानी प्रयोग गरेमा कानुनबमोजिम कारबाही गरिने पनि बताएका छन् ।
प्रहरीले महँगा गरगहना लगाई होली नखेल्न, ट्राफिक नियमको पूर्ण पालना गर्न, जाँड-रक्सी खाएर गाडी नचलाउन, अशक्त, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पर्यटकलाई कुनै पनि प्रकारको दुर्व्यवहार नगर्न भनेको छ ।
रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न, भिडभाड हुने ठाउँमा होली नखेल्न, कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भएमा तत्काल नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न प्रहरीले अनुरोध गरेको छ ।
प्रतिक्रिया