काठमाडौँ। उपत्यका बाहिर स्थायी ठेगाना भएका नागरिकहरूले पनि काठमाडौं उपत्यकाबाटै राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न पाउने भएका छन् ।
काठमाडौं उपत्यका बाहिर स्थायी ठेगाना भएका नागरिकहरूका लागि सरकारले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न उपत्यका भित्र केही स्थानहरू तोकेको हो ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा बागमती प्रदेशका ललितपुर र भक्तपुरबाहेक सबै जिल्ला तथा मधेस प्रदेशका पर्सा र धनुषा जिल्लाका सेवाग्राहीहरूले विवरण दर्ता गर्न पाउने भएका छन् ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय, ललितपुरमा कर्णाली प्रदेश र सुदूर-पश्चिम प्रदेशका सबै तथा मधेस प्रदेशका सप्तरी र सर्लाही जिल्लाका सेवाग्राहीहरूले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न सक्नेछन्।
नारायणहिटी दरबार परिसरमा स्थापित विवरण दर्ता स्थानमा प्रदेश नं. १, लुम्बिनी र गण्डकी प्रदेशका सबै जिल्ला र मधेस प्रदेशको सिराहा, महोत्तरी, बारा र रौतहट जिल्लाका सेवाग्राहीहरूले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न सक्नेछन्।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको दर्ता स्थानबाट भने नेपाल सरकार तथा मातहतका कर्मचारी, पूर्व कर्मचारी तथा विशिष्ट पदाधिकारीहरू सेवा लिन सक्ने जनाइएको छ ।
प्रदर्शनी मार्गमा रहेको राष्ट्रिय सभागृहमा स्थापित विवरण दर्ता स्टेसनबाट राष्ट्रसेवक कर्मचारीका परिवारका सदस्यले परिचयपत्र दर्ता सेवा लिन सक्ने भएका छन् ।
प्रतिक्रिया