काठमाडौं । प्रदेश १ को नामकरणका निम्ति प्रदेशसभामा नेकपा एमाले र नेपाली कांग्रेसले दर्ता गराएको ‘कोशी’ नामको प्रस्ताव स्वीकृत भएको छ ।
प्रदेशसभाका बहुमत सांसदहरूको समर्थनमा प्रस्ताव छलफलका निम्ति स्वीकृत भएको प्रदेशसभा सचिवालयका प्रवक्ता चन्द्रमणि पोखरेलले बताएका हुन् ।
प्रदेश १ को नामकरणका निम्ति प्रदेशसभा सचिवालयमा दर्ता गराइएको ‘किराँत-लिम्बुवान-सगरमाथा’ नामको प्रस्ताव भने बहुमतले अस्वीकृत भएको छ । नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले दर्ता गराएको सो नामको प्रस्ताव अस्वीकृत भएको हो।
नेकपा एसका सांसद तथा तत्कालीन मुख्यमन्त्री राजेन्द्रकुमार राई प्रस्तावक रहेको उक्त प्रस्ताव जसपाकी सांसद तथा मन्त्री निर्मला लिम्बुको समर्थनमा दर्ता गराइएको थियो । तर बुधबार(आज) बसेको प्रदेशसभा बैठकमा सो नामको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो।
चन्द्रमणि पोखरेलले स्वीकृत भएको प्रस्तावउपर प्रदेशसभा बैठकमा छलफल भइरहेको जानकारी दिए । उनले भने ‘नाममाथिको छलफल सकिएपछि मत विभाजन हुन्छ । मत विभाजनमा प्रदेशसभाको दुई तिहाइ बहुमतले नाम पारित गरेपछि प्रदेशले नाम पाउँछ।’ प्रदेशसभामा हाल भने ‘कोशी’ नाममाथिको छलफल जारी छ।
प्रतिक्रिया