काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाहीमाथि छानबिन गर्ने क्रममा थप दुई सैनिक अधिकारीमाथि जंगीअड्डाले छानबिन थालेको छ ।
शाहीमाथि छानबिन गर्न उपरथी बाबुराम श्रेष्ठको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वाइरीले दिएको सिफारिस अनुसार प्रधानसेनापति प्रभुराम शर्माले सैनिक अदालत गठन गरेका छन् ।
त्यसले उपस्थित गराउन भनेपछि प्राड विवाकका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदिप तिम्सिनालाई हाजिर गराइएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले अनलाइनखबरलाई बताए ।
‘आर्थिक अनुशासनसम्बन्धी छानबिनका क्रममा उहाँहरुमाथि पनि छानबिन गर्नुपर्ने देखिएपछि बोलाएका हौं’, भण्डारीले भने, ‘उहाँहरुको गतिविधि सैनिक अनुशासन विपरीत भएन भन्ने हो ।’
सैनिक स्रोतका अनुसार शाह र तिम्सिनालाई उपरथी शाहीलाई सघाएको आरोप लागेको छ । केही दिनअघि अनुसन्धान टोलीले उनीहरुको मोबाइल समेत नियन्त्रणमा लिएको थियो ।
उपरथी शाहीलाई सेनाले ४ पुस २०७९ मा ५८ वर्षे उमेर हदका कारण २० पुसदेखि अवकाश हुने भन्दै पत्र थमाएको थियो । तर, उनले आफ्नो जन्ममिति गलत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दिए ।
उनले सेनामा प्रवेश गर्नुअघि जारी भएको प्रमाण पत्रमा आफ्नो जन्ममिति २०२३ रहेको उल्लेख गर्दै अदालतमा निवेदन दिएका थिए । सेनाले शैक्षिक प्रमाण पत्रमा भएको मिति अनुसार अवकाशको पत्र थमाएको थियो ।
आफूले एसएलसी परीक्षा दिएको बूढानिलकण्ठ स्कुलले समेत उमेर सच्चाउँदै पत्र पठाइसकेको भन्दै उनले अदालतमा निवेदन दिएका थिए । सेनाको आन्तरिक समितिले पनि उनको जन्ममितिमा त्रुटि भएको भन्दै नागरिकता अनुसारको जन्ममिति कायम गर्न सिफारिस गरेको थियो । तर तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिले त्यसलाई सदर गरेको थिएन ।
न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले १३ पुसमा उनलाई अवकाश दिने निर्णय तत्काल कार्यान्वयन नगर्न भन्दै अन्तरिम आदेश दिएको थियो ।
आदेशपछि हाजिर हुन जाने क्रममा सैनिक प्रहरीको टोलीले शाहीलाई नियन्त्रणमा लिनुका साथै आर्थिक अनुशासनको आरोप लगाउँदै शाहीको घरमा समेत छापा हानिएको थियो ।
यस्तै, स्थानीय सरकारले निगरानी नगर्दा मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा निरन्तर नदी उत्खनन भइरहेको छ । स्थानीय क्षेत्रमा क्रसर उद्योगको दोहन विगत डेढ महिनादेखि चलिरहँदा समेत स्थानीय सरकार बेखबर छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर-५ सिमल्टारमा आमभन्ज्याङ् एग्रिगेट क्रसर उद्योगले जमिन भासिने गरी उत्खनन गर्दा पनि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू हेरेरे बसी रहेका छन् ।
यो क्रसरले भत्काएकै ठाउँबाट वडा अध्यक्ष तथा अन्य जनप्रतिनिधिहरू दिनहुँ ओहोरदोहोर गर्छन् । ५ नम्बर वडा अध्यक्षको त घर नै यो क्रसरबाट केही मिटरको दुरीमा रहेको छ ।
क्रसर उद्योगले आफ्नै परिसरमा लामो समयदेखि जमिन भासिने गरी ढुङ्गा, गिट्टी बालुवा उत्खनन् गरिरहेको भएपनि सरोकारवाला कसैले वास्तै नगरेको स्थानीय बासिन्दाहरूको गुनासो छ । क्रसर उद्योगको एक्साभेटरले मकवानपुरगढीको सिमल्टारको बस्ती नै जोखिममा पार्नेगरी निकै गहिरो उत्खनन् गरेर संकलन गरेको ग्राभेलको राजश्व रकम समेत गाउँपालिकालाई बुझाएको छैन ।
‘क्रसरबाट उड्ने धुलोको कारण हाम्रो बालीमा असर पुगेको छ, धोएर लुगा सुकायो झन् माटै माटो हुन्छ, बोल्नै डराउनु पर्छ हामीले उल्टै’ नाम नबताउने सर्त स्थानीय युवाले भने, ‘बुले गुण्डाको डर, नबोले अब अति भयो ।’
गाउँपालिका, जिल्ला समन्वय समिति मकवानपुर र जिल्ला अनुगमन समितिले अनुगमन गर्न आउँदा नदेखिने गरी निरन्तर उत्खनन गर्ने र क्रसरले उत्पादन गरेको काम नलाग्ने डस्टले त्यस खाल्डो पुर्ने गरिएको स्थानीय प्रत्यक्षदर्शीहरू बताउँछन् ।
आमभन्ज्याङ् एग्रिगेट क्रसर उद्योगले आफ्नो उद्योग परिसरको सबै क्षेत्र उत्खनन् गरेर गाउँपालिकालाई राजश्व रकम पनि नबुझाउने र ग्राभेल पनि निकालिरहने गर्दै आएको छ । जमिन मुनीबाट निकालेर पुन काम नलाग्ने डस्टले पुरेपछि उत्खनन भएको भनेर अरुले अनुगमन गर्दा पनि पत्ता नलगाउने गरी खनिएको प्रतक्षदर्शीहरु बताउँछन् ।
यस क्रसर उद्योगले सयौटिप टिप्परको ग्राभेल उठाए पनि गाउँपालिकालाई सहजै रुपमा राजज्व छली गर्ने र गाउँपालिकाका कर्मचारीलाई समेत प्रभावमा पारेको पाइएको छ । निकै गहिराइमा जमिन खनेर डस्टले पुर्ने श्रृङ्खलाले गर्दा सिमल्टार वरपरको बस्ती समेत जोखिममा परेको हो ।
प्रतिक्रिया