• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    केमिकल प्रयोगले कानका लोती चुँडिएपछि…

    590
    SHARES


    गुल्मी। कान चुँडिएर गहना लगाउन नमिल्ने अप्ठ्यारो यहाँका धेरै महिलाको साझा समस्या भएको छ । समस्या समाधान र उपचारका लागि अस्पताल जानुको साटो ब्युटिपार्लर धाउँदा समस्या जटिल बनेको हो । कानको लोती नै चुँडिएर समस्या निम्तिए पनि यहाँका महिला अस्पताल होइन, ब्युटिपार्लन धाइरहेका छन् ।

    कान तुहिएपछि अस्पतालमा पुगेर सिलाउनुपर्नेमा ब्युटिपार्लरले नसिलाई जोड्ने भन्दै जथाभावी केमिकल लगाइँदिंदा कानका लोती चुँडिएर जटिल समस्या सिर्जना भएको हो । लोती चुँडिएपछि कान नै सानो हुने, कुरूप देखिने र गहना लगाउन नमिल्ने हुन्छ । आफू त्यस्तै अफवाहमा लागेर कानको लोती चुँडिएको रेसुंगा नगरपालिका-८ की सिर्जना रायमाझीले गुनासो गरिन् ।

    ‘कानमा टेप लगाएर १० दिनपछि आउनुहोला भनेर पठाए, १० दिनपछि पुग्दा टालिएको भाग एकदमै कालो भएको देखेपछि म आत्तिएर अस्पताल जान्छु भनेँ,’ उनले भनिन्, ‘तर, सबैको यस्तै हो, अब माम्री उप्किएपछि जस्ताको तस्तै हुन्छ भनेर पर्काए, एक हप्तापछि कानको लोती नै झर्‍यो ।’

    कानको लोती चुँडिएपछि उनी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुगेर उपचार गरी फर्केकी छन् । कान तुहिएपछि आफू अस्पतालमै जानका लागि हिँडेको भए पनि बीच बाटोमै अफवाहमा परेर कानको लोती गुमाउनुपरेको भन्दै उनले पछुतो मानिन् ।

    ‘कान सिलाउन अस्पताल हिँडेकी थिएँ, एक जनाले किन अस्पताल जानु पर्‍यो, ब्युटिपार्लरमा नदुखाई उपचार गरिदिन्छन् भनेपछि पुरानो बैंकरोडको श्रेया ब्युटिपार्लर पसेँ,’ उनले भनिन्, ‘त्यो दिन अरूको कुरा पत्याउँदा दुःख पाएँ । दुःखका साथ खर्च पनि बढ्यो ।’

    कान चुँडिएका महिला प्रायः जाडो मौसम सुरु भएपछि उपचारका लागि अस्पताल जाने गर्छन् । तर, ब्युटिपार्लरले नदुखाई उपचार गर्छन् भन्ने भ्रममा परेर यस वर्ष कान सिलाउन आउने महिला अत्यधिक मात्रामा घटेको गुल्मी जिल्ला अस्पतालका अहेव प्रतीक पाण्डेले बताए ।

    अघिल्लो वर्ष पुस-माघ महिनामा झन्डै १५ जना महिला उपचारका लागि आएकामा यसपालि चार जना मात्रै आएको उनले बताए । ‘त्यसमा पनि एक-दुई जना त यहाँ सिलाउन ठिक्क परेकामा ब्युटिपार्लरमा सिलाउँदा दुख्दैन भन्दै हिँड्नुभयो,’ उनले भने, ‘काटेर सिलाउँदा त कहिलेकाहीं जोडिन समस्या हुनेमा केमिकल प्रयोगले त्यो कसरी जोडिन्छ ?’ पार्लरले सुलेसन लगाएर केही दिन ब्यान्डेजले टाल्ने र सुलेसनका कारण पछि कान नै बिग्रेपछि उपचारका लागि अस्पताल आउनेहरू धेरै रहेको पाण्डेले बताए ।

    श्रेया ब्युटिपार्लरकी सञ्चालक सिर्जना मगरले आफूले ५०-६० जनाको कान टाल्दा समस्या नआएको बताइन् । ‘मैले ५०-६० जनाको कान टाल्दा सफल नै भएको थियो तर एक जनाले समस्या आयो भन्नुभयो,’ उनले भनिन्, ‘समस्या देखिएपछि मैले त्यो काम नै छाडेँ अहिले ।’

    उनी १६ महिने तालिम सञ्चालन गरेर तम्घास बजारमा ब्युटिपार्लर व्यवसाय गरेकी पाकी ब्युटिसियन हुन् । पछिल्लो एक वर्षदेखि कान टाल्ने केमिकल आएको र एक वर्ष टालेमा ५-६ वर्ष चल्ने उनको भनाइ छ । तर, कान टाल्ने उपचारका लागि भने आफूहरूले कुनै छुट्टै तालिम लिनु नपर्ने ब्युटिपार्लर सञ्चालकहरूको भनाइ छ ।

    नेपालमा गहना लगाएको कानमा समस्या आएपछि कस्मेटिक प्रयोग गरेर टाल्ने र त्यसबाट दीर्घकालीन समस्या निम्तिएको छाला रोग विशेषज्ञ अरूण कार्कीले बताए ।

    उनका अनुसार मनपरी कस्मेटिक प्रयोग स्वास्थ्यका लागि घातक हुन्छ । ‘अहिले यो समस्या लिएर धेरै महिला उपचारका लागि आउनुहुन्छ तर मेडिकल साइन्समा विश्वास नगरेर कस्मेटिक सामानको विश्वास गर्नुहुन्छ,’ उनले भने, ‘न त्यसरी जनस्वास्थ्यमा असर गर्ने केमिकल प्रयोग गर्नेलाई कारबाही हुन्छ, न त त्यसरी प्रयोग गर्ने भीडमै कमी आएको छ ।’ कान्तिपुर बाट

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ