काठमाडौँ। भरतपुर महानगरपालिका ६ का नरेन्द्रप्रसाद कन्दङ्वाले २०५५ सालदेखि बंगुर पालन गर्दै आएका छन् । देशकै ठूलो फार्म मानिएको कन्दङ्वाको खोरमा १ हजार ३ सयको हाराहारीमा बंगुर हुन्थे । आजभोलि भने उनको खोर खाली छ ।
अफ्रिकन स्वाइन फिभरका कारण सबै बंगुर एकैपटक मरे । ‘भरतपुर ६ मा पाथिभरा पशुपालन तथा दाना उद्योग थियो । त्यहाँ १ हजार २ सय ३० बंगुर थिए,’ कन्दङ्वाले भने, ‘साउनको पहिलो हप्तादेखि भदौ १५ सम्मको अवधिमा सबै बंगुर मरे ।’
उनको फर्ममा ९ सय ६५ बयस्क र २ सय ६५ पाठापाठी थिए। जसबाट ३ करोड २ लाख ७५ हजार रूपैयाँ घाटा भएको उनको भनाइ छ।
पहिलोपटक चितवनमा साउन ४ गते उनको फर्ममा देखिएको स्वाइन फिभर विस्तारै अन्य फर्ममा देखा पर्यो। भदौ ९ गते इच्छाकामना गाउँपालिका ७ मा गोपी मल्ली डोमले पालेको बंगुरमा पनि देखियो ।
त्यहाँका ५ सय १ बंगुर मरे। त्यसपछि असोज २४ गते वैदेशिक रोजगारीबाट फर्किएर बंगुर पालन गर्दै आएका वसन्त रानाका फर्ममा पनि देखियो। खैरहनी नगरपालिका ४ मा गौशला कृषि तथा पशु फर्म खोलेर बंगुर व्यवसाय गरिरहेका रानाका ८३ वटा बंगुर यही कारणले मरे। अहिले उनको खोर खाली छ ।
‘९ वर्ष कतारमा परिश्रम गरेर कमाएको पैसा बंगुरमा लगानी गरेको थिँए’ उनले भने, ‘वर्षदिन नपुग्दै अफ्रिकन स्वाइन फिभर आएर सकिए।’ उनले ६० लाख लगानी गरेको बताए। एउटा बंगुरलाई २४ हजारसम्म पर्ने भइसकेको उनले बताए।
चितवनमा अफ्रिकन स्वाइन फिभरका कारण ठूलो संख्यामा बंगुर मरेका छन्। ‘साउन महिनादेखि हालसम्म १२ वटा फर्ममा अफ्रिकन स्वाइन फिभर देखिएको छ ।
जसबाट ३ हजार ४१ बंगुर मरेका छन्,’ भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका मत्स्य विकास अधिकृत डा. प्रभात न्यौपानेले भने, ‘चितवनमा ५ करोड ९० लाख ४५ हजार रूपैयाँ बराबरको क्षति भएको छ ।’
पछिल्लो समय माघ १२ गते रत्ननगर नगरपालिकाको अस्मिता बंगुर फर्ममा पनि अफ्रिकन स्वाइन फिभर देखिएको छ। त्यहाँ ५८ वटा बंगुर मरेको विज्ञ सेवा केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
इच्छाकामना गाउँपालिकाका ३, भरतपुर महानगरपालिकाका ३, रत्ननगर नगरपालिकाका ४ र खैरहनी नगरपालिकाका २ वटा फर्ममा रोग देखिएको छ। सबैभन्दा धेरै पाथिभरा पशु पालन तथा दाना उद्योगका १ हजार २ सय ३० वटा बंगुर मरेका छन् ।
प्रतिक्रिया