काठमाडौँ । राष्ट्रपतिमा सुवास नेम्वाङ र रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन् ।
नेपाली कांग्रेसबाट रामचन्द्र पौडेलले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । शनिबार नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन-२०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् ।
कांग्रेसले शनिबार बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । पूर्वसभामुख, गृहमन्त्री र उपप्रधानमन्त्री भइसकेका पौडेल गत मंसिर ४ मा तनहुँ-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
शुक्रबार रातिको नेकपा माओवादी केन्द्रसहितको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चा पार्टीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने सहमति दिएका छन् ।
यस्तै, नेकपा एमालेबाट सुवास नेम्वाङले पनि राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू पनिसँगै बानेश्वर पुगेका थिए । एमालेको शनिबार नै बसेको सचिवालयको बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
उम्मेदवारी दर्तापछि उनले भने -‘मलाई पार्टीले राष्ट्रपतिमा अघि सारेको छ । मलाई खुसी लागेको छ । अहिले म जनताको पक्षमा छु ।
त्यसैले म सबैको तर्फबाट राष्ट्रपतिका उम्मेदवारका रूपमा अघि आएको छु । र,म त्यो दायित्व र जिम्मेवारी संविधानअनुसार पुरा गर्छु । हाम्रा विगतका राष्ट्रपतिको अधारसमेतलाई ध्यानमा राखेर जनताको राष्ट्रको जिम्मेवारी पूरा गर्छु ।’
प्रतिक्रिया