काठमाण्डाै। तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर ६ चुहानडाँडाको हात्तीखर्कमा लागेको डढेलोबाट बस्ती जोगाउन लागि अहिले पनि सुरक्षाकर्मी र स्थानीयले पहल गरिरहेका छन् । खैरेनी निबुटार जङ्गलमा सुरु भएको डढेलो बस्तीमा पस्दा हिजोनै १४ घर जलेका थिए ।
डढेलोबाट अरु बस्तीलाई जोगाउन नेपाली सेना, प्रहरी लगायत स्थानीयले रातभर प्रयास गरेका वडा नम्बर ६ का वडाध्यक्ष कृष्णप्रसाद सापकोटाले बताए ।
झाडी रहेको जङ्गलमा डढेलो धेरै फैलिएकोले तत्काल नियन्त्रणमा गर्न कठिन भएकाले बस्ती जोगाउनका लागि प्रयास भइरहेको उनले बताए।
जङ्गलमा लागेको आगो नियन्त्रणमा नआउँदा नजिकका अरु बस्तीसमेत जोखिममा छन् । हिजो डढेलो पसेको बस्ती तामाङ समुदायको हो ।
बस्तीमा खरले छाएका सबै घर जलेका हुन् । खरको छाना भएका घरहरुमा डढेलोको आगो पुगेपछि निभाउनै नसकिएको अध्यक्ष सापकोटाले बताए ।
उनले भने ‘सेना, प्रहरी र स्थानीयले सक्दो प्रयास गर्दा पनि सकिएन, दमकल लगिएको भए पनि बस्तीमा पुग्न सकेन, माथिबाट हानेको पानीको फोहराले कुनै काम गर्ने सकेन ।’
हिजो आगो निभाउने क्रममा ५० वर्षकी याङ्डोल्मा तामाङ घाइते भएका छन् भने २ बालकको पनि ज्यान गएको जनाइएको छ ।
घाइतेको थप उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको छ । १४ घरमध्ये नौ घरमा मानिस बस्दै आएको र पाँच घर खाली रहेको वडाध्यक्ष कृष्ण बास्कोटाले बताए । आगलागीबाट नौ परिवारको ४१ जना विस्थापित भएका छन् ।
प्रतिक्रिया