काठमाडौँ। नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा छलफल गर्न एमालेको सचिवालय बैठक आज बस्दै छ ।
पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।
बैठक बिहान ९ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बस्नेछ । राष्ट्रपति निर्वाचनका लागि शनिबार (आज) मनोनयन र यही फागुन २५ गते निर्वाचन हुँदैछ ।
एमाले नेतृत्वको सत्तागठबन्धन भत्किएको छ । प्रधानमन्त्री प्रचण्ड पुरानै गठबन्धनमा फर्किएपछि एमालेले सरकारबाट बाहिरिने तयारी गरेको हो ।
यस्तै, नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भएको बताएका छन् । सत्तागठबन्धन तोडिएसँगै एमाले आफ्नै लयमा अघि बढ्नुपर्ने उनले बताए ।
उनले बामपन्थी सहकार्यमा कुनै उत्साह र आशा नभएको बताउँदै एमाले निराश हुनुपर्ने कारण नभएको बताएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चरित्रप्रति पहिलै सचेत गराएको पनि उल्लेख गरेका छन् । बास्कोटाले प्रधानमन्त्री प्रचण्डलाई रङ फेर्ने छेपारोसँग दाँजेका छन् ।
उहिल्यै भन्देको हो-छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगीता भए पनि छेपारो नै हार्छ।उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ।अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भयो।एमाले आफ्नै लयमा अघि बढ्नु पर्छ।उत्साह र आशा दुबै थिएन न त एमाले निराश हुनु पर्ने कारण छ।
— Gokul Prasad Baskota (@GokulPBaskota) February 24, 2023
प्रतिक्रिया