काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटारबाट फर्किएका छन् । प्रधानमन्त्री प्रचण्डसँग करिब २ घण्टा वार्ता गरेर अध्यक्ष ओली बालुवाटारबाट निस्केका हुन् ।
राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल गर्न प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगेका थिए । प्रधानमन्त्री प्रचण्ड र ओलीबीच करिव २ घण्टा छलफल भएपनि राष्ट्रपतिका विषयमा के कस्तो समझदारी भयो भन्ने विषयमा बाहिर सार्वजनिक भएको छैन ।
ओली बालुवाटारबाट निस्किएलगत्तै पुराना गठबन्धन शीर्ष नेताहरु छलफल गर्ने भएका छन् । राष्ट्रपतिका साझा उम्मेदवार तय गर्न पुराना गठबन्धनका नेताहरु बसेर फाइनल गर्ने बताएका हुन् ।
यस्तै, राप्रपाले राष्ट्रपति निर्वाचनमा उम्मेदवारको प्रस्ताव र समर्थक नबस्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।
शनिबार राष्ट्रपति निर्वाचनको मनोनयन दर्ता गर्ने कार्यक्रम छ भने २५ फागुनमा मतदान हुनेछ । तर, राप्रपाले कुनै पनि उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको हो ।
साथै राष्ट्रपति निर्वाचनसम्बन्धी अन्य विषयमा भने उपयुक्त समयमा बैठक बसेर निर्णय गरिने प्रवक्ता श्रेष्ठले बताए ।
प्रतिक्रिया