काठमाडौँ । पुरानो गठबन्धनले कार्यदल बनाएर सत्ता सहकार्यको खाका तयार गर्दै छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीबीच कार्यदल बन्ने छलफलमा रहेका एक नेताले बताएका छन् ।
‘केन्द्रदेखि सातै प्रदेशसम्म सरकारमा कांग्रेस, एकीकृत समाजवादी र जसपा लगायत दलको सहभागिताका लागि एउटा सानो टिम बनाएर काम हुन्छ ,’ ती नेताले भने । पुरानो गठबन्धन ब्युँतिँदा एमाले सरकारबाट बाहिरिने कांग्रेस, माओवादी, समाजवादी र जसपाको निष्कर्ष रहेको छ ।
एमाले नेताहरूले पनि राष्ट्रपतिमा माओवादीले साथ नदिए सरकारमा नबस्ने बताउँ छन् । एमाले सचिव योगेश भट्टराईले पुस १० मा एमालेलाई राष्ट्रपति दिने गरी भएको सहमति कार्यान्वयन नभए सरकारबाट बाहिरिने स्पष्ट पारिसकेका छन् ।
माओवादीका एक पदाधिकारीले पनि अब एमाले सरकारमा नरहने संकेत देखिएको बताए । उनले भने, ‘अब एमाले सरकारमा हुँदैन होला । अब सरकार सञ्चालन नयाँ ढंगले हुने भयो ।
पुरानो गठबन्धन ब्युँतिएपछि सत्ता सहकार्य पनि त उसैसँग हुने भयो नि ।’ उनका अनुसार पुस १० मा भनेको सात दलीय गठबन्धनबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी बाहिरिने सम्भावना बढेको छ ।
सत्तासीन माओवादी केन्द्रले संसद्को पहिलो दल नेपाली कांग्रेससँग सहकार्यको बाटो रोजेपछि सात दलीय सत्ता गठबन्धन विघटननजिक छ । योसँग प्रदेश १, गण्डकी र लुम्बिनीमा एमाले नेतृत्वको सरकार धरापमा पर्ने देखिएको छ ।
पुरानो गठबन्धन ब्युँतिदा प्रदेशसभाको अङ्कगणित एमाले प्रतिकुल रहेको छ । प्रदेश १ मा एमाले र राप्रपा मिल्दा पनि सरकार जोगाउन एक सांसद चाहिन्छ ।
त्यहाँ जसपा एक जना सांसद निर्णायक छन् । जसपाले उपराष्ट्रपति पाएको खण्डमा प्रदेश एक सरकार पनि जोगिने सम्भावना न्यून हुन सक्छ ।
यस्तै, भैरहवा विमानस्थल सञ्चालन गरी पर्यटन क्षेत्रमा गरिएको ४० अर्ब लगानी सुरक्षित गर्न एमाले सांसद वासुदेव घिमिरेले माग गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद घिमिरेले यस्तो बताएका हुन् । उनले विमानस्थल निर्माण भएको एक वर्ष पूरा हुँदा समेत पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको जिकिर गरे । उनले समय अघि हप्ताको दुईवटा उडान भए पनि अहिले बन्द भएको बताए ।
घिमिरेले भैरहवा विमानस्थल सञ्चालनमा भारतले अनुमति नदिएकाले उडान हुन नसकेको सञ्चारमाध्यममा आएकाले त्यो सम्बन्धमा सम्बन्धित मन्त्रालयले संसद्लाई स्पष्ट जानकारी दिन माग गरे ।
प्रतिक्रिया