चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल नेतृत्वको टोलीले बिहीबार नारायणी नदी किनार प्रदर्शनी मैदानको निरीक्षण गरेको छ । ‘भरतपुर भ्रमण वर्ष २०८०’ को पूर्वसन्ध्यामा नारायणी नदी किनारमा निर्माणाधीन ‘सी बिच मोडल’ को मेयर दाहाल नेतृत्वको टोलीले अवलोकन गरेको हो ।
भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा ‘सी बिच’ मोडलको तटबन्धको काम सुरु भएको छ । नदी किनारको ६ सय ५० मिटरको दुरीमा सिँढी र चौतारीसहितको तटबन्धको काम सुरु भएको हो । त्यसको लागि ८ मिटरको ‘पाइल’ गाड्ने काम भइरहेको छ ।
निरीक्षणको क्रममा प्रमुख दाहालले ‘सी बिच मोडल’ को भौतिक प्रगति, सार्वजनिक जग्गामा बनेका अवैध संरचना, नारायणी नदी क्षेत्रमा रहेका व्यवसायको व्यवस्थितिकरण र सरसफाइको बारेमा चासो राखेकी थिइन् । पछिल्लो समय नारायणी नदी किनारमा अव्यवस्थित व्यवसायहरूका कारण अस्तव्यस्त हुन थालेको भन्दै मेयर दाहालले चिन्तासमेत व्यक्त गरिन् ।
भरतपुर महानगरपालिकाका प्रमुख दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, पर्यटन विज्ञ, भरतपुर महानगरपालिकाका इन्जिनियरसहित नारायणी नदी किनार पुगेको टोलीले भ्रमण वर्षलाई लक्षित गरेर बाँकी भौतिक कार्यलाई तीव्र रूपमा अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।
नारायणी नदी किनारलाई व्यवस्थित पर्यटकीय स्थलका रूपमा विकास गर्न हरियालीसहित ‘सी बिच मोडल’ लाई विभिन्न मन्त्रालयको बजेटमा सौन्दर्यीकरणको काम भइरहेको छ ।
भरतपुर महानगरपालिकाले वि.सं २०८० लाई भ्रमण वर्ष मनाउने गरी बृहत् छलफल गरिरहेको छ । महानगरपालिकाले भरतपुरमा भइरहेको विकास र यहाँका पर्यटकीय गन्तव्यलाई देश, विदेशमा सन्देश फैल्याउने उद्देश्यसहित भ्रमण वर्ष मनाउँदै छ ।
प्रतिक्रिया