काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले उपराष्ट्रपति पदमा आफ्नो अडानमा कायम रहेको छ ।
पावर सेयरिङमा उपराष्ट्रपति पद आफ्नो पार्टीले पाउनुपर्ने जसपाको माग रहेको छ । त्यसका लागि अध्यक्ष उपेन्द्र यादवले दुवै पक्षसँग कुराकानी गर्दैछन् ।
यादवले एमालेका अध्यक्ष केपी शर्मा ओलीका साथसाथै कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डसँग पनि समानान्तर छलफल गरिरहेका हुन् ।
उनले ती भेटहरूमा राष्ट्रपति र उपराष्ट्रपति फरक समुदायबाट हुनुपर्छ भन्दै उपराष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने बताउँछन् ।
जसपाका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले राष्ट्रपति वा उपराष्ट्रपतिमध्ये एउटा जसपाले पाउनुपर्ने आफूहरूको अडान रहेको बताए ।
राष्ट्रपति नपाउने निश्चित जस्तै रहेकाले आफ्नो पार्टीले उपराष्ट्रपतिका लागि सबै दलहरूसँग संवाद गरिरहेको उनको भनाइ रहेको छ ।
उनले भने, ‘हामीले राज्य समावेशी होस् भनेर चाहेका छौँ, मधेसी, आदिवासी जनजाति, महिला, दलितलगायतको समानुपातिक सहभागिता हुनुपर्छ र त्यसका लागि पार्टीबाट आवाज उठाइरहेका छौँ ।’
फेरिने दिशामा रहेको सत्ता समीकरणमा जसपाको भूमिका कस्तो हुन्छ भन्ने जिज्ञासामा उनले अहिले आफ्नो पार्टी पर्ख र हेरको नीतिमा रहेको बताए । राष्ट्रपतिको चुनावसम्म हेर्ने र त्यसपछि दलहरूबाट आउने जवाफका आधारमा अघि बढिने उनको भनाइ रहको छ ।
प्रतिक्रिया