ताप्लेजुङ । जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा झण्डै ६ गुना बढी कैदीबन्दी बस्न बाध्य छन् ।
पच्चीस जना क्षमताको उक्त कारागारमा हाल एक सय ५५ कैदीबन्दी छन् । महिला कैदीबन्दी राख्ने ठाउँ अभावमा छिमेकी जिल्ला पाँचथरको फिदिम पठाउनुपर्ने बाध्यता रहेको जिल्ला कारागारका प्रमुख जेलर कुलेन्द्र खवासले जानकारी दिए ।
कारागारमा हाल एक सय १५ कैदी र ४० थुनुवा छन् । कारागारमा जबर्जस्ती करणी मुद्दाका ३२ कैदी र १० थुनुवा, कर्तव्य ज्यान मुद्दाका २८ कैदी र छ थुनुवा, अपहरण मुद्दाका नौ, डकैती मुद्दाका सात तथा ज्यान मार्ने अभियोगका सात कैदी सजाय भुक्तान गरिरहेका छन् ।
“क्षमताभन्दा बढी कैदीबन्दी भएपछि कारागार व्यवस्थापनमा समस्या भएको छ”, जेलर खवासले भने । कारागारमा दरबन्दीअनुसारका कर्मचारी नभएको उनको गुनासो छ । नौ जनाको दरबन्दी रहेकामा हाल एक जेलर, एक कम्प्युटर अपरेटर र चार कार्यालय सहयोगी मात्र कार्यरत छन् ।
यस्तै, जुम्ला । जुम्लामा २० प्रतिशत किसानले मात्रै स्याउ बिमा गरेका छन्। झन्डै १२ हजार घरधुरी स्याउ खेतीमा निर्भर देखिएको जुम्ला २० प्रतिशत अर्थात २ हजार ४ सय ६१ जना किसान मात्रै हालसम्म बिमित रहेको शिखर इन्सोरेन्स कम्पनी जुम्लाको तथ्याङ्क छ ।
सरकारी तथ्याङ्क हेर्ने हो भने कुल १९ हजार बढी घरधुरी रहेको जुम्लाको जनसङ्ख्या करिब १ लाख २० हजार रहेको छ । जसमध्ये कुल घरधुरीको ९१.८९ प्रतिशत नागरिक कृषि पेसामा आश्रित रहेको कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कमा उल्लेख छ ।
१९ हजार घरधुरीमध्ये जुम्लाका १२ हजार घरधुरी व्यवसायीक स्याउ खेती गरिरहेका छन् । तर बिमित भने २४ सय ६१ जना किसान मात्रै छन् ।
३३ सय ५० हेक्टर जमिनमा १२ हजार घरधुरीका किसानले १४ हजार ५ सय बगैँचामा स्याउ खेती गरिरहेका छन्। विगतका वर्षमा असिना पानी, कालो तुसारो जस्ता प्रकोपले स्याउ किसानले करोडौँको क्षति व्यहोर्दै आएका छन् । एकातिर पुँजी अभाव र अर्को तिर चेतना शिक्षाको कमीले जुम्लाका किसान अझै अपेक्षित रूपमा कृषि बिमाको पहुँचमा पुग्न सकेका छैनन् ।
दुर्गमका किसान बिमामा लगानी गरेर लाभ लिन न ज्ञानले सक्षम छन्, न उनीहरूसँग पर्याप्त पुँजी छ । जसका कारण वर्ष भरी श्रम गरेर प्राकृतिक प्रकोपका कारण पटक पटक घाटा खेप्न बाध्य छन् ।
कृषि, पशु, स्वास्थ्य, जीवन तथा निर्जीवन लगायतका बिमाहरू स्थानीय नागरिकलाई अति आवश्यक छ । भिर पाखो नभनी स्वास्थ्यको ख्याल नगरी कृषि कर्ममा लाग्ने, कडा मेहनत गरी तरकारी फलाउने व्यक्तिलाई बिमाको आवश्यक छ ।
कृषिमा आत्मनिर्भर मुलुकमा किसान र किसानको उत्पादन नै सुरक्षित गर्ने नीति र किसान सँग पर्याप्त पुँजी नहुनु दुखद पक्ष भएकोले जुम्लाका स्याउ किसानको सरकारी तबरबाटै अनिवार्य बिमाक नीति निर्माण हुन जरुरी छ ।
जुम्लामा शिखर इन्सोरेन्स कम्पनीले वर्षौँदेखि कृषि विकास कार्यालय सँग समन्वय गरी स्याउ, मार्सी धान, पशु लगायतको बिमा गर्दै आएको छ । तर करिब आधा दशक बढी समय बितिसक्दा पनि जुम्लाका किसान अपेक्षित रूपमा बिमाको पहुँचमा पुग्न सकेका छैनन् ।
बिमा कम्पनीको रेकर्ड अनुसार जुम्लाका २ हजार ४ सय ६१ किसान मात्रै अहिले सम्म बिमाको पहुँचमा पुगेका छन् । खेतीमा निर्भर रहेका जुम्लाका १२ हजार घरधुरी किसान मध्य २० प्रतिशत अर्थात २४ सय ६१ जना किसान मात्रै बिमाको पहुँचमा पुगेका छन् भने बाँकी ८० प्रतिशत अर्थात ९ हजार ६ सयबढी किसान अझै बिमाबाट वञ्चित छन् ।
प्रतिक्रिया