काठमाडौं। नागार्जुन नगरपालिका-२ गैरीगाउँ डेरा गरी बस्ने ४७ वर्षीय उद्दब मल्लको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने गोरखा घर भएका २५ वर्षीय भोज प्रताप थापा समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ६ सय रुपैयाँ र ९ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यस्तै, म्याग्दीको मालिका गाउँपालिका-५ मगरदाङ्मा ‘मदिरा सेवन र बिक्री वितरणसँगै जुवातास खेल्न रोक’ लगाइएको छ । स्थानीय मगरदाङ आमा समूहले गाउँभेलामार्फत सामाजिक नीति नियम तयार गरेर लागू गरेका हुन् ।
समाजमा भएका विकृति विसङ्गतिलाई हटाउँदै सभ्य समाज निर्माणमा सहयोग गर्ने अठोटका साथ गाउँमा मदिरा सेवन र बिक्री वितरण तथा जुवातास खेल्न रोक लगाइएको आमा समूहका अध्यक्ष राजमति बुढाले बताइन् ।
‘युवा कुलतमा फस्दा सिङ्गो समाजलाई नै प्रभावित बन्ने गरेको छ, सार्वजनिक स्थानमा मदिरा सेवन र बेचबिखन गर्नेलाई जरिवानै तोकेका छौँ,’ अध्यक्ष बुढाले भनिन् ।
महिलालाई आत्मनिर्भर बनाउँदै मौलिक संस्कृति संरक्षण तथा समाजमा भएका विकृति विसङ्गतिको अन्त्यका लागि सक्रिय समूहले समाजमा जुवातास खेल्न तथा मदिराजन्य पदार्थको सेवन गर्न निषेध गरेको आमा समूहले जनाएको छ ।
गाउँभरिका पसलमा सिसा, बियर तथा रक्सीका कुनै पनि सामग्री लिएर बेचबिखन गर्न नपाइने नियम बनाइएको अध्यक्ष बुढाले जानकारी दिइन् ।
प्रतिक्रिया