काठमाडौं । घरेलु मैदानमा आयोजना भएको आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले लगातार चौंथो जित निकालेको छ ।
टियु क्रिकेट मैदानमा मंगलबार सिरिजको अन्तिम खेलमा स्कटल्याण्डलाई २ विकेटले हराउँदै नेपालले लगातार चौंथो जित निकालेको हो ।
स्कटल्याण्डले दिएको २ सय १३ रनको लक्ष्य नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा कप्तान रोहित पौडेलले १ सय १ बलमा अविजित ९५ रनको अर्धशतकीय ईनिङ खेले । उनले ७ चौका र ४ छक्का प्रहार गरे ।
रोहितको यो एकदिवसीय अन्तराष्ट्रियमा सातौं अर्धशतक हो । रोहितले यस अघि पपुवा न्युगिनी र अमेरिकाविरुद्ध २/२ तथा यूएई र नामिबियाविरुद्ध १/१ अर्धशतक बनाएका थिए ।
करण केसीले ३७ बलमा अविजित ३१ रन बनाए । ज्ञानेन्द्र मल्ल २१ रनमा आउट हुँदा कुशल मल्लले १७ रन बनाए । आसिफ शेखले १२ तथा सन्दीप लामिछानेले ९ रन बनाए ।
ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा सन्दीप जोराले १ रन बनाए । दीपेन्द्र सिंह ऐरीले ७ तथा सोमपाल कामीले २ रन बनाए ।
नेपालको जितमा रोहित र करणले नवौं विकेटका लागि अविजित रुपमा ७५ रनको साझेदारी गरे । यो नेपालका लागि नवौं विकेटका लागि भएको कीर्तिमानी साझेदारी हो ।
१ सय ३८ रनमा आठौं विकेट गुमाएको नेपालले जितका लागि नवौं विकेटका लागि ७५ रनको महत्वपूर्ण साझेदारी गरे ।
स्कटल्याण्डका लागि मार्क वाटले ३ तथा क्रिस ग्रेभ्सले २ विकेट लिए । सफियान सरिफ, माइकल लिस्क र ब्रेण्डन म्याकमुलनले समान १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६ ओभर १ बलमा अलआउट हुँदै २ सय १२ रन बनाएको थियो ।
प्रतिक्रिया