काठमाडौँ। माओवादीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई सघाउने धारणा बनाउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरे ।
महाराजगन्जस्थित एक घरमा आइतबार साँझ भएको ४ घण्टा लामो वार्तामा ओलीले एकीकृत समाजवादी एमालेमा समाहित गर्नसमेत प्रस्ताव गरेका हुन् ।
राष्ट्रपति निर्वाचनमा निर्णायक शक्ति रहेको माओवादीले पदाधिकारी बैठक गरेरै पुस १० मा एमालेसँग भएको सत्ता साझेदारीको परिस्थिति बदलिएको निष्कर्षसहित स्वार्थ मिल्नेसँग राष्ट्रपति निर्वाचनमा सहकार्य गर्ने निर्णय लिएको छ जसले राष्ट्रपतिमा एमालेसँग सहकार्यको ढोका लगभग बन्द गरेको छ ।
माओवादीबाट साथ नपाइने बुझेपछि एमाले अध्यक्ष ओलीले पनि आफ्नो पक्षबाट राष्ट्रपति बनाउने प्रयास जारी राखेका छन् । ओलीकै प्रस्तावमा आइतबार साँझ नेपालसँग वार्ता भएको थियो र त्यसपछि नेपालले आफू राष्ट्रिय सहमतिको राष्ट्रपति बन्न दाहाललगायत कांग्रेस नेताहरूसँग भेटघाट गरेका छन् । उनले ओलीसँगको भेटबारे दाहाललाई सोमबार बताएका थिए ।
‘एमालेले समर्थन गर्छ भने तपाईंहरूले पनि गर्नुस्, संस्थागत निर्णय गराउनुस्,’ नेपालले दाहाललाई भनेका थिए । राष्ट्रपतिको उम्मेदवारमा जतिसक्दो छिटो स्पष्ट निर्णय लिन पनि उनले आग्रह गरेका थिए । नेपालसँगको वार्तापछि दाहाल पार्टी पदाधिकारी बैठकमा पुगेका थिए ।
प्रतिक्रिया