काठमाडौँ। कैलाली निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुण कुमार चौधरी १७ दिने जेल बसाइपछि आइतबार रिहा भए । नागरिक उन्मुक्ति पार्टीबाट चुनाव लडेका उनी राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी भएपछि रिहा भएका हुन् ।
थरुहट थारुवान् आन्दोलन ताका २०६६ भदौ ३ गते कैलालीको लम्की चुहा नगरपालिकाका पूर्व मेयर महादेव बजगाईँको लु २ त २११ नम्बरको ट्याक्टरमा आगजनी भयो ।
सो घटनाका सम्बन्धमा ट्याक्टर मालिक बजगाईँले १ वर्षपछि २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा अरुण चौधरीसहित ३ जनाविरुद्ध मुद्दा दर्ता गरेका थिए ।
अदालतले सोही मुद्दाको सुनुवाइ गर्दै २०७० वैशाख ९ गते चौधरीसहित परशुराम चौधरी र वीर बहादुर चौधरीलाई जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला सुनायो ।
घटना पश्चात् उनी २०७४ मा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बने । लम्की चुहा नगरपालिकाको मेयरमा पनि उनी उम्मेदवार बने । २०७९ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका उनी यस पटक भने निर्वाचित पनि भए ।
माघ १९ गते उनलाई बाँकेबाट पक्राउ गरिएको थियो । एक पत्रकार संग कुरा गर्दै चौधरी भन्छन् ‘ जेल जीवन भोग्नेलाई मात्रै थाहा हुन्छ । अर्को कुरा, परिवर्तनकामी व्यक्तिको खुट्टा कसरी तान्ने काम हुन्छ ? सुनियोजित रूपमा कसरी फसाइन्छ ? भोग्नेलाई मात्रै थाहा हुन्छ ।
आफ्नो बचाउका लागि कति हदसम्म के–के गर्नुपर्छ ? बचाउको लागि कानुनी प्रक्रिया मैले पनि अपनाएको हो । तर अहिले जुन हिसाबले नेपाल सरकारले मप्रति सोच बनायो र निर्णय गर्यो ।
हामीले गरेको फैसलाले गर्दा उहाँलाई अन्याय भयो भनेर प्रधानमन्त्रीदेखि राष्ट्रपतिज्यूसम्मले सोच्नुभयो । राजनीतिक मुद्दाको रूपमा स्वीकार गरियो । र, मलाई आममाफी दिइयो । जसको लागि म उहाँहरूलाई धन्यवाद, आभार व्यक्त गर्न चाहन्छु । त्यो घटना मेरो नितान्त व्यक्तिगत पनि थिएन नि ।
चौधरी थप्छन् ‘आजदेखि म पुनः माननीयको हैसियतमा छु । जनताको हक हितको लागि लामो समय आन्दोलनमा थिएँ । आम जनता, मतदाताले मलाई अमूल्य मत दिई जिताउनुभएको छ । उहाँहरूको हित, हक अधिकारको लागि उहाँहरूसँगै हुनेछु । उहाँहरूसँग गरेको बाचा पूरा गर्न लाग्नेछु । उहाँहरूको हितलाई सर्वोपरि ठानेर संसद्मा निर्धक्कका साथ आवाज उठाउने मेरो ध्येय हो ।
प्रतिक्रिया