News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

३३ प्रतिशतले घट्यो डिजेलको आयात

9.2K
SHARES


काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० मा डिजेल आयात घट्दै गएको छ । गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालू वर्षको सोही अवधिमा डिजेलको आयात ह्वात्तै घटेको सरकारी तथ्याङ्कले देखाएको हो ।

भन्सार विभागबाट लिएर अर्थमन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा डिजेलको आयात ३३.६५ प्रतिशतले घटेको छ । आयात प्रभावित बनेपछि डिजेलबाट सङ्कलन हुने भन्सार राजश्व समेत प्रभावित बनेको छ ।

खास गरी, चालू आर्थिक वर्षमा विकास निर्माणका काम नगण्य मात्रामा हुँदा यसको प्रभाव डिजेल आयातमा परेको पनि भनिएको छ । निर्माण क्षेत्रमा प्रयोग हुने ‘हेभी इक्वीपमेन्ट’हरुमा इन्धनकारुपमा डिजेलको प्रयोग हुने गर्दछ ।

यस्तै, छिमेकी मुलुक भारतीय बजारको तुलनामा नेपालमा डिजेलको मूल्य बढी हुँदा समेत नेपालमा आयात घटेको हो । भारत र नेपालबीच खुला सिमाना हुँदा सीमानाकामा सवारी साधनले भारतमा गएर डिजेल भर्ने गर्छन् । यसअघि, नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य सस्तो हुँदा समेत भारतीय सवारी साधन आएर नेपालमा इन्धन भर्थे ।

गत आर्थिक वर्षको साउनदेखि पुस महिनासम्मको अवधिमा डिजेलमार्फत सरकारले २८ अर्ब २५ करोड रुपैयाँ राजश्व सङ्कलन गरेको थियो ।

चालू आ.वर्षको ६ महिनाको अवधिमा २३ अर्ब १४ करोड रुपैयाँ राजश्व सङ्कलन भएको छ । भन्सार विभागको तथ्यांक हेर्दा गत वर्षको तुलनामा धेरै मूल्यको डिजेल आयात भए पनि परिणाम भने घटेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपालले समेत बढेको मूल्यमा डिजेलको आयात गर्नुपरेको छ । फलस्वरूप गत वर्षको भन्दा थोरै परिणाममा डिजेल आयात गर्दा समेत धेरै रकम बाहिरिएको छ ।

भन्सार विभागका अनुसार गत वर्षको ६ महिनामा ८ लाख ३० हजार किलोलिटर डिजेल आयात भएको थियो । जबकि, चालू वर्षको सोही अवधिमा जम्मा ५ लाख ५० हजार किलोलिटर डिजेल आयात भएको देखिएको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया