टर्की । टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गते भएको भूकम्पमा परी ४६ हजारभन्दा बढीको मृत्यु भएको छ ।
भने हजारौँ घाइते भएका छन् । टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर ७. ८ म्याग्निच्युडको भूकम्पबाट १० वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ ।
विपद् तथा आपत्कालीन व्यवस्थापन प्राधिकरण आज साँझदेखि खोजी तथा उद्धार स्थगन गरिने जनाउँदै चार लाख ३० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताएको छ ।
साथै खोज तथा उद्धारमा १३ हजार स्वयम्सेवक एवम् अन्य सहायताकर्मी परिचालन गरिएको जनाइएको छ । हालसम्म टर्कीएमा ४० हजार छ सय ४२ जना तथा सिरियामा पाँच हजार आठ सयले ज्यान गुमाएका दुवै देशका सरकारी अधिकारीले बताएका छन् ।
उनीहरूले मृतकको सङ्ख्या बढ्नसक्ने जनाएका छन् । टर्कीएमा तीन लाख ४५ हजार भवन भत्केका छन् भने भग्नावशेषमा धेरै हराइरहेका छन् ।
विश्व खाद्य कार्यक्रमले सिरियमा मानवीय सहायता सामग्री परिचालनमा कठिनाइ भएको जनाउँदै अवरोध नगर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।
प्रतिक्रिया