काठमाडौँ । आज राष्ट्रिय प्रजातन्त्र दिवस, विविध कार्यक्रम गरी मनाइँदैछ ।
राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।
जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ ।
प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षकै क्रममा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले वि. सं. १९९७ माघमा जीवन आहुति दिएका थिए ।
नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।
तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सुरुवात भएको थियो । दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताएकी छन् ।
भण्डारीले वर्तमान शासन व्यवस्थाले दशकौँदेखि व्यक्त हुँदै आएको सहिदको सपना एवं जनताको आकाङ्क्षालाई मूर्तरूप दिन सक्नुपर्ने उल्लेख पनि गरेकी हुन् ।
उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र प्राप्ति र त्यसपछि भएका क्रान्ति तथा आन्दोलनका उपलब्धिको संरक्षण तथा रक्षाका लागि सबै पक्षलाई अपिल गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै प्रजातन्त्र प्राप्तिका लागि भएको आन्दोलनमा आफ्नो जीवनको आहुति दिनुहुने सबैलाई स्मरण गर्दै उहाँहरूप्रति श्रद्धासुमन अर्पण भने ।
प्रजातन्त्र दिवसले देशको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रतालाई अझै सुदृढ गर्दै देशलाई विकास र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा दिने उपराष्ट्रपति पुनकोभनाई छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको प्रगतिशील कार्यान्वयनमार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताएका छन् ।
ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि निरन्तर लाग्नुपर्नेमा प्रधानमन्त्री प्रचण्डको जोडा छ ।
दिवसका अवसरमा शुभकामना सन्देश दिदै प्रधानमन्त्री प्रचण्डले नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा स्थापित प्रजातन्त्रले आफूलाई परिस्कृत र परिमार्जन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको बताए ।
वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्दै बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न दृढ प्रतिवद्ध रहेको सन्देशमा उल्लेख छ ।
प्रतिक्रिया