काठमाडौँ। सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योग सञ्चालनका लागि आवश्यक कोइला अभावका कारण उत्पादन बन्द भएको हो ।
कोइला आपूर्तिका लागि बोलपत्र आह्वान भइसकेको उद्योग व्यवस्थापनको भनाइ रहेको छ । उद्योगले प्रथम र दोस्रो चरण गरी १० हजार मेट्रिक टन कोइला आयात गर्ने योजना बनाएको छ ।
उद्योगका नायव महाप्रबन्धक नवीन कर्णले सिमेन्ट उत्पादनका लागि आवश्यक कोइलाको व्यवस्थापनमा लागेको र एक हप्ताभित्र कोइला आपूर्ति भई सिमेन्ट उत्पादन सुरु हुने दाबी पनि गरेको छ । कोइला भारत, इन्डोनेसिया र भुटान तथा पाकिस्तानबाट आयात हुने गर्दछ ।
लामो समय बन्द भएर तीन महिनाअघि मात्रै फेरि सञ्चालनमा आएको उद्योग अहिले पुनः बन्द भएको हो । दैनिक सात सय ५० टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको भए पनि पुरानो मेसिनरी समस्या र जनशक्ति अभावमा सोअनुसार उद्योगबाट सिमेन्ट उत्पादन हुन सकेको छैन ।
उद्योग विगत चार वर्षदेखि घाटामा रहेको छ । उद्योग ०३३ मा एसियाली विकास बैंकको सहयोगमा स्थापना भएको थियो ।
प्रतिक्रिया