काठमाडौँ। यातायात मजदुरहरूले आज काठमाडौँ उपत्यकामा गरेको बन्द फिर्ता लिएका छन् ।
सरकार र यातायात मजदुरहरूबीच आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले बन्द फिर्ता लिएको जनाइएको छ ।
‘हामीले बन्द फिर्ता लिएका छौँ’ अखिल यातायात मजदुर संघका अध्यक्ष दीपक केसीले भने ‘अब अर्को बैठक बस्दैछौँ ।’
उनका अनुसार मजदुरहरूको निलम्बित लाइसेन्स फिर्ता गर्ने सहमति भएको छ । मन्त्री श्रेष्ठले यातायात व्यवसायीको जायज माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि बन्द फिर्ता गर्न यातायात मजदुर सहमत भएका हुन् ।
ट्राफिक जरिवानाको विषयलाई लिएर यातायात मजदुरहरूले सोमबार बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नाका साथै आगजनी गरेका थिए ।
ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले आयोजना गरेको आन्दोलनका क्रममा मजदुरहरूले आगजनी तथा तोडफोड गरेका थिए ।
प्रतिक्रिया