काठमाडौँ । आन्दोलनरत यातायात मजदुरहरूले काठमाडौँ उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दले जनजीवन प्रभावित बनेको छ ।
सरकारले आफूहरूसँग गरेको सहमति पालना नगरेको भन्दै सोमबार आन्दोलनमा उत्रिएमा यातायात व्यवसायीहरुले आज सार्वजनिक यातायात बन्द आह्वान गरेका हुन् ।
मजदुर सङ्घको हडतालका कारण उपत्यकाका सार्वजनिक सवारी ठप्प भएका छन् । अचानक भएको सवारी ठप्पका कारण हजारौँ यात्रुहरू अलपत्र परेका छन् ।
यसको प्रत्यक्ष मारमा शैक्षिक संस्थाहरू परेका छन् भने विद्यालयहरूले एसएमएस पठाउँदै आज शैक्षिक संस्था सञ्चालन हुन नसक्ने सन्देश विद्यार्थीहरूलाई पठाइरहेका छन् ।
सरकारले आन्दोलनरत मजदुर सङ्गठनका नेतालाई वार्ता र संवादमा बोलाएको छ । बालाजु बसपार्क आसपासमा हिजो भएको तोडफोड आगजनीको घटना पछि आज सवारी सेवा ठप्प पारेका आन्दोलनकर्तालाई सरकारले वार्तामा बोलाएको हो ।
यस्तै बागमती प्रदेशले आज (फागुन २) गतेदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा नयाँ मापदण्ड लागू गर्ने भएको छ।
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी देवराज चौलागाईंका अनुसार मंगलबारदेखि लिखित तथा ट्रायल परीक्षा ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०७७’ अनुसार सञ्चालन हुनेछ।
‘सोमबारबाट नयाँ व्यवस्था अनुसार परीक्षा सञ्चालन गर्ने भनिएको थियो। तर सार्वजनिक बिदा परेकाले मंगलबारबाट अनिवार्य रूपमा नयाँ व्यवस्था अनुसार परिक्षा सञ्चालन गर्दैछौं,’ उनले सेतोपाटीसँग भने।
उनका अनुसार हाल बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले ५ वटा यातायात व्यवस्था कार्यालयले दैनिक पाँच हजार पाँच सयदेखि ६ हजार जनाको ट्रायल लिँदै आएको छ। चितवनको कार्यलयबाट भने लाइसेन्स वितरण काम हुन बाँकी नै छ।
यातायात व्यवस्था विभागले ट्रायलमा ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था ल्याएको लामो समय भइसकेको छ। विभागले २०७८ जेठदेखि नै निर्देशिकामा भएको व्यवस्था कार्यान्वयन गर्ने बताएको थियो। तर यस्तो व्यवस्था सबै प्रदेश सरकारले लागू गर्न सकिरकेको थिएन।
प्रदेश नं १, मधेश प्रदेश र गणडकी प्रदेशमा नयाँ व्यवस्था केही समय अघि नै लागू भइसकेको छ। बागमती प्रदेशमा पनि सो व्यवस्था भोलिबाट लागू हुने भएको हो।
प्रतिक्रिया