काठमाण्डाै। सरकार, आन्दोलनरत यातायात व्यवसायी र मजदुरबीच आज वार्ता हुँदैछ ।
ट्राफिक प्रहरीले बढाएको जरिबानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घ आन्दोलनमा रहेका छन् ।
उनीहरुसँग बिहान ८ बजे वार्ताको तयारी भएको उपप्रधान एवम भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जनाएको छ ।
हिजो नै नयाँ बसपार्क क्षेत्रमा आन्दोलनरत यातायात मजदुरका प्रतिनिधिहरूलाई छलफलमा बोलाए पनि वार्तामा बस्न उनीहरुले आनाकानी गरेका थिए । हिजो वार्ता हुन नसकेपछि आज बार्ता गर्ने तयारी गरिएको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पनि बिहान ८ बजे वार्तामा बस्ने बताएका छन् ।
उनले भने – ‘वार्ताभन्दा अगाडि हामी केही बोल्दैनौँ, वार्ता पछि महासङ्घले औपचारिक निर्णय सार्वजनिक गर्नेछ ।’ ट्राफिक जरिबानाको विषयलाई लिएर यातायात मजदुरहरूले हिजो बालाजु बसपार्क क्षेत्रमा गरेको विरोध हिंसात्मक बनेको थियो ।
यातायात मजदुरले माछापोखरीमा प्रहरीका दुईवटा भ्यान र प्रहरीको एउटा अस्थायी बिटमा आगजनी गरेका थिए । आन्दोलनरत पक्षले बसपार्क क्षेत्रमा तोडफोड, आगजनी तथा सुरक्षाकर्मीमाथि आक्रमण पनि गरेका थिए । हिजो नयाँ बसपार्क क्षेत्रमा सडकमा नै गाडी तेर्स्याएर उनीहरुले सडक अवरुद्धसमेत गरेका थिए ।
आन्दोलनका कारण तनावग्रस्त बनेको बसपार्क क्षेत्रमा सुरक्षाकर्मीको परिचालन बढाइएको छ । यस्तै, काठमाण्डौ उपत्यकाका सडकका चोकचोकमा पनि सुरक्षाकर्मी खटिएका छन् ।
यातायात व्यवसायी र मजदुरको आन्दोलनका कारण यात्रु मारमा परेका छन् । सामाजिक सञ्जालमा पनि एतिबेला आन्दोलनको विरोध र आलोचना भइरहेको छ ।
प्रतिक्रिया