सुर्खेत । आइतबार वीरेन्द्रनगरमा बसको ठक्करबाट मृत्यु भएकी महिलाका आफन्तद्वारा जारी आन्दाेलन चर्किएपछि वीरेन्द्रनगरको अवस्था अहिले तनावग्रस्त बनेको छ ।
आन्दालेनकारीले विभिन्न चोकमा टायर बालिरहेका छन् भने यातायातका साधन हरुपनि चलेका छैनन ।
आइतबार दिउँसो जाजरकोटकी नदी रावतको बसको ठक्करबाट मृत्यु भएको थियो । उक्त घटनालाई लिएर आफन्तले क्षतिपूर्तिको माग गर्दै सोमबार बिहानैदेखि आन्दोलन जारी राखेका छन् ।
आन्दोलनका क्रममा एक जना पत्रकार घाइते भएका छन् । मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरी बीचको झडपमा स्थानीय पत्रकार बलबहादुर थापा घाइते भएका हुन् ।
बसपार्क समितिका युवाहरुले उनको टाउकोमा काँचको बोतलले हानेका थिए । पत्रकार थापाले आन्दोलनको भिडियो खिचिरहेका थिए भने प्रहरी र आन्दालेनकारीले भिडियो नखिच्न आग्रह गरेका थिए ।
तर उनले भिडियो खिचिरहेपछि प्रहरीकै अगाडि युवाहरुले उनीमाथि आक्रमण गरेका हुन् । उनलाई आक्रमण गर्ने युवाको परिचय भने खुलेको छैन । पत्रकार थापाको उपचार स्थानीय माया नर्सिङ होममा भइरहेको छ ।
उनको टाउकोमा पाँचवटा टाँका लगाइएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीका अनुसार आन्दोलनलाई साम्य पार्नका लागि २ सय ३० जना प्रहरीलाई तैनाथ गरिएको छ ।
प्रतिक्रिया