काठमाडौँ। नेकपा एमालेका सांसद रघुजी पन्तले शुक्रबार राष्ट्रपतिको सवारी हुँदा भएको जामको दोषी राष्ट्रपति नभएको बताएका छन् । आइतबारको संसद् बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘राष्ट्रपतिले संसद्मा संबाेधन गरेर फर्कनुभयो,’ उनले भने, ‘त्यसपछिको जामको विषयलाई लिएर सरकार, हामी सांसद र राष्ट्रपतिप्रति नै नकारात्मक टिप्पणीहरू भइरहेका छन् । दोष राष्ट्रपतिको होइन ।’
यसअघि पनि राष्ट्रपतिले यस्ता समस्या भएर सवारीको प्रक्रिया सरल बनाउ माग गरेको पनि उनले बताए । ‘यो भन्दा अगाडि रामवरण यादव राष्ट्रपति हुनुहुन्थ्यो ।
उहाँको पालामा पनि पटक-पटक आलोचना भएर उहाँले मेरो विभिन्न कार्यक्रममा जाँदाको प्रक्रिया सरल बनाइयोस् भन्नुभयो,’ उनले भने, ‘अहिलेको राष्ट्रपतिको पनि यो भन्दा अगाडि टिप्पणी भयो । उहाँले पनि यसलाई सरल बनाइयोस् भन्नुभएको छ ।’
सुरक्षा संयन्त्रको जिम्मा सरकारको भएकाले यसमा सरकारले ध्यान दिनुपर्ने उनको भनाइ रहेको छ । ‘तर अस्ति म आफैँ पनि १ घण्टा जाममा परेँ,’ उनले भने, ‘एम्बुलेन्स् पनि जाममा पर्यो ।
सरकारले सवारी चलाउने माध्यमलाई लोकतन्त्र अनुकूल खुकुलो र सुरक्षाका दृष्टिले पनि उपयुक्त बनाउने बारेमा पटक-पटक चर्चा चल्दा आवाज उठ्दा पनि सरकारले ध्यान दिएको छैन ।’
सरकारले उपयुक्त पाइला नचालेर राष्ट्रपति जस्तो गरिमामय संस्थाले चै यसमा आलोचना भोग्नुपर्ने स्थिति आउनु नहुने बताएका हुन्। ‘मेरो सवारी कसरी चालउने भन्न विषयमा राष्ट्रपतिको भूमिका हुँदैन,’ उनले भने, ‘त्यसको सम्पूर्ण जिम्मेवारी सरकारको सुरक्षा संयन्त्रले गर्छ ।’
प्रतिक्रिया