काठमाडौं । उपचार सेवाको माग गर्दै बिरामी र बिरामीका आफन्तहरुले वीर अस्पताल अगाडिको सडकमा प्रदर्शन गरेका छन् ।
उनीहरुको प्रदर्शनको कारण केहीबेर यातायात सेवा प्रभावित भएको थियो । सडक अवरुद्ध हुने गरी प्रदर्शन गर्नेहरुलाई प्रहरीले अहिले भने हटाएको छ ।
नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामीहरु मर्कामा परेका छन् ।
वीर अस्पतालमा आज बिहान पुगेका धेरै बिरामीहरु अलमलमा परेका थिए । सुरक्षा गार्डहरुले आज ओपीडी सेवा बन्द भएको जानकारी गराउँदै बिरामीहरुलाई फर्काएका छन् ।
यस्तै आन्दोलनरत चिकित्सकका प्रतिनिधि र सरकारी टोलीबीच वार्ता जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहानैदेखि वार्ता जारी रहेको हो ।
वार्तामा सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेश पाण्डे र चिकित्सकहरुको तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की नेतृत्वको टोली सहभागी रहेको छ ।
प्रहरीबाट ट्रमा सेन्टरका एक चिकित्सक कुटिएको विरोधमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेर नेपाल चिकित्सक संघले आन्दोलन घोषणा गरेपछि समस्या समाधानका लागि वार्ता भइरहेको थियो । वार्तामा ट्रमा सेन्टरका निर्देशक रुद्र मरासिनीसमेत सहभागी छन् ।
प्रतिक्रिया