काठमाडौँ। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी पार्टी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएको भन्दै पार्टीको भविष्य उज्जवल रहेको बताए ।
शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘निर्वाचनपछि हामीले सरकारको नेतृत्व गर्ने अवसर पाएका छौं । यो हाम्रा लागि चुनौतीपूर्ण अवसर हो । यसको भरपुर सदुपयोग गरेर देश र जनताका निम्ति राम्रो परिणाम दिनैपर्दछ ।
एक्लो प्रधानमन्त्रीले मात्रै गरेर सबै चिज हुँदैन, केन्द्र, प्रदेश र स्थानीय तहका सरकार सबैले राम्रो गर्दा देशमा राम्रो परिणाम आउँछ। पार्टीका पनि सबै नेता-कार्यकर्ताले जनताको हितअनुसार काम गरेर देशलाई परिणाम दिने पर्छ,’ प्रधानमन्त्री दाहालले भने ।
यस्तै सामाजिक न्याय, सुशासन र समृद्धि वर्तमान सरकारको प्राथमिकता रहेको उनले बताए । उक्त लक्ष्य हासिल गर्न सिंगो देशलाई एकताबद्ध बनाएर लैजानुपर्ने प्रचण्डको भनाइ छ ।
प्रधानमन्त्री दाहालले सरकारलाई प्रभावकारी बनाउन पार्टीको तर्फबाट भूमिका खेल्ने र त्यसका लागि पार्टीको २ महिने संगठनात्मक अभियान चलाउने पनि बताएका छन् ।
यस क्रममा माओवादीले पार्टी एकता र समाजवादी मोर्चाको तयारी गरिरहेको र सम्भव हुने पार्टीहरूसँग तत्काल पार्टी एकता गर्ने जानकारी दिए । उनले भने ‘अहिले पनि अप्ठ्याराहरू छन्, चुनौतीहरू छन् ।
ती सबैलाई हामी छिचोल्छौं र अगाडि बढ्छौं। अर्को निर्वाचनसम्म जाँदा हाम्रो पार्टी फेरि शक्तिशाली भएर आउँछ। देशको वैकल्पिक शक्ति हामी नै हौं भन्ने तथ्य परिणामबाट पनि स्थापित हुन्छ। त्यसरी हेर्दा मैले माओवादी पार्टीको भविष्य उज्जवल नै देखिरहेको छु, हामी फेरि उचाइका साथ अघि बढ्छौं।’
यसैबीच प्रधानमन्त्री दाहालले पुस २६ मा प्रतिनिधिसभाबाट प्राप्त गरेको विश्वासको मतलाई माओवादी आन्दोलनका लागि न्याय भएको रुपमा अर्थ्याएका थिए । ‘पुस २६ को प्रतिनिधिसभामा जुन विश्वासको मत प्राप्त भयो । त्यो इतिहासकै अभूतपूर्व रह्यो ।
त्यसले माओवादी आन्दोलनप्रति न्याय भएको छ, यसको नेतृत्वप्रति न्याय भएको छ । त्यो मत प्रधानमन्त्रीलाई प्राप्त मत मात्र होइन, परिवर्तनको नीति र नेतृत्वलाई प्राप्त मत हो। यसले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगप्रति पनि न्याय भएको मैले महसुस गरेको छु,’ प्रधानमन्त्री दाहालले भने ।
कार्यक्रममा उनले उत्पीडितहरू आफ्नो अधिकारका लागि आफैं अग्रसर बन्नुपर्ने सुझाव पनि दिएका थिए । विगतका आन्दोलन र बलिदानीको बलमा धेरै अधिकार प्राप्त भएको तर त्यो पर्याप्त नरहेको पनि उनको भनाइ छ ।
तर अहिले फेरि परिवर्तनविरोधी शक्तिहरू जनताका अधिकार कुण्ठित गर्न लागिरहेको भन्दै उनले उत्पीडितहरू आफैं जागेर अग्रसर भएपछि मात्रै अधिकार प्राप्त हुने उनको भनाइ छ ।
‘दलित समुदायको संघर्ष र भूमिकाबिना राजनीतिक परिवर्तन सम्भव थिएन । नेपालको क्रान्तिकारी आन्दोलनमा दलितहरूको महत्त्वपूर्ण योगदान छ,’ प्रधानमन्त्रीले भने ।
प्रतिक्रिया