• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    जब गाउँमै गाडी पुग्यो…

    1.1K
    SHARES



    लमजुङ। एकाबिहानै छिमेकीले गाउँमा जिप आउन लागेको सुनाएपछि उमेरले ६ दशक कटेकी बुधकुमारी गुरुङ हतारहतार माला लिएर स्वागतमा लागिन् । उनका पति मुनबहादुर पनि पछिपछि लागे । उनीसहित गाउँलेले जिपलाई फूलमाला र चालकलाई टीका पनि लगाइदिए ।

    क्व्होलासोंथार गाउँपालिका–४ भुजुङको कमागाउँमा बिहीबार बिहान पहिलोपटक जीप पुगेपछि स्थानीयले खुसी साटेका हुन् । गाउँलेलाई पोखरा पुग्न पसगाउँ र बेंसीसहर जान भुजुङ पुग्नुपर्ने बाध्यता थियो । पसगाउँ वा भुजुङ जता गए पनि करिब ३ घण्टासम्म उकालो ओरालो गर्नुपर्ने बाध्यता हटेपछि कमाबासी उत्साहित भएका हुन् ।

    ‘गाडी आएपछि खुसी छौं’ स्थानीय समिता गुरुङले भनिन्, ‘अब धेरै सुविधा हुनेछ । सुख पाइने भइयो ।’ क्व्होलासोंथार–६ पसगाउँबाट ग १ ज ६३०७ नम्बरको बोलेरो जिप कमागाउँ आइपुगेको हो । जिप कमागाउँबाट भुजुङ, घलेगाउँ हुँदै बेंसीसहर फर्किएको थियो ।

    सदरमुकाम बेंसीसहरदेखि भुजुङसम्म १ दशकदेखि सवारीसाधन चलिरहेको छ । पोखरादेखि पसगाउँमा आधा दशकदेखि सवारीसाधन चलिरहेको छ । गाउँका अगुवा वीरबहादुर गुरुङले बाटो खुलिसकेपछि पोखरा-बेंसीसहर पुग्न सजिलो भएको बताए ।

    ‘दुर्गम क्षेत्रमा सवारीसाधन पहिलोचोटि आएको छ । बाटो खुलिसकेपछि बेंसीसहर पोखरा जान आउन सजिलो भयो,’ उनले भने, ‘अब नियमित गाडी चलोस् ।’

    स्थानीय पूर्णकुमारी गुरुङले गाउँमै सवारीसाधन देख्न पाउँदा खुसीले गदगद भएको बताइन् । ‘सहरमा देख्ने गाडी गाउँमै देख्न पाउँदा खुसी छौं । बाटोलाई सधैंभरी चल्ने बनाइदिन अनुरोध गर्दछु,’ उनले भनिन् । उनले सबैभन्दा बढी सुत्केरी हुनेलाई फाइदा पुग्ने बताइन् ।

    गाउँको स्वास्थ्य इकाईमा बर्थिङ सेन्टर नहुँदा यहाँका गर्भवतीलाई २–३ घण्टा हिँडेर ठूलो गाउँ (भुजुङ) पुग्नुपर्ने बाध्यता छ । ‘जिप चल्न थालेपछि अब सुत्केरीलाई स्वास्थ्य संस्थामा लैजान उकालो ओरालो दौडाउनु परेन’ उनले भनिन् ।

    क्व्होलासोंथार–४ भुजुङका वडाअध्यक्ष नारायण गुरुङका अनुसार भुजुङबाट मिदिमखोलासम्म माथिल्लो मिदिमखोला जलविद्युत् आयोजनाले यसअघि सडक निर्माण गरिसकेको छ ।

    वडा ६, पसगाउँबाट कमागाउँ हुँदै केही दिनअघि मात्रै कमागाउँ सडक सञ्जालमा जोडिएको हो । गुरुङले भने, ‘भुजुङबाट पहिलेको डिजाइनअनुसार अर्को बाटो बनिरहेको छ ।’

    त्यो बाटो बनेपछि बाटो छोटिने उनले बताए । गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले क्व्होलासोंथार गाउँपालिकामा चक्रपथ निर्माण भएको छ । पालिकादेखि मिदिमपारिका ५ वटा वडा जोड्ने गरी मिदिमखोलामा यसै वर्ष पुल बनेको छ ।

    ‘अब घलेगाउँ आउने पर्यटक भुजुङ हुँदै पसगाउँ र पसगाउँबाट भुजुङ हुँदै घलेगाउँ जाने बाटो खुलेको छ । गाउँलेका लागि र पर्यटकीय हिसाबले यो निकै ठूलो फड्को हो,’ उनले भने ।

    यसअघि डिजाइन भएको सडकका लागि गाउँपालिकाले ७० लाख रुपैयाँ बजेट विनियोजन गरेर छोटो बाटो निर्माण भइरहेको छ ।

    कमागाउँवासीको सहजताका लागि जलविद्युत आयोजनाले निर्माण गरेको सडकमा अहिले पसगाउँबाट कमागाउँ हुँदै सडक जोडिएको गाउँपालिका अध्यक्ष गुरुङले बताए । ‘यो बाटो यसै वर्ष ट्र्याक खुल्छ । हामी पुलका लागि प्रक्रिया अघि बढाउँछौं,’ उनले भने ।

    बेंसीसहरबाट घलेगाउँ हुँदै भुजुङ ३२ किलोमिटर रहेको छ । भुजुङबाट कमागाउँ अहिलेको सडक करिब ९ किलोमिटर रहेको छ । पोखराबाट पसगाउँ ४७ किलोमिटरको दूरीमा पर्छ । पसगाउँबाट कमागाउँ करिब ९ किमि दूरीमा छ  ।

    पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख इन्जिनियर सुमन गिरीका अनुसार गत वर्षमा पसगाउँदेखि कमागाउँ र भुजुङबाट कमागाउँतर्फको सडकमा काम भएको थियो  ।कान्तिपुर बाट

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ