काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधि प्रदर्शनी र यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माण तथा सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा आउँदो माघ २४ देखि २९ सम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २८औँ संस्करणको क्यान इन्फोटेक मेला हुँदैछ।
क्यान महासंघले आयोजना गर्ने मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२३ को तयारी अन्तिम चरणमा पुगेको महासंघका अध्यक्ष रणजीत पोदारले बताए।
‘क्यान इन्फोटेकमा सूचना सञ्चार प्रविधि क्षेत्रका भित्रिएका नवीनतम प्रविधि तथा सेवाको विशेष प्रदर्शनी तथा सरोकारवालाहरुबीच गहन छलफल हुनेछ,’ बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने।
प्रायोजक कम्पनीका आधारमा यो बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ‘’इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ इन एसोसिएसन विथ एससीटी’’ रहेको जानकारी दिईयो।
क्यान इन्फोटेकको इतिहासमै पहिलो पटक सफ्टवेयर कम्पनीले शीर्ष प्रायोजन गरेको दाबी गरिएको छ। पत्रकार सम्मेलनमा बोल्दै इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशीले नेपालको सफ्टवेयर उद्योगलाई चिनाउन र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न क्यान इन्फोटेकमा शीर्ष प्रायोजन गरिएको भनाइ राखे । ‘क्यान मेलालाई यसअघि हार्डवेयर क्षेत्रले बढी प्रतिनिधित्व गर्थ्यो,’ उनले भने, ‘स्वदेशकै सफ्टवेयर र सोलुसन्सको बजार निर्माण गर्न यसबाट सहयोग पुग्ने विश्वास लिएका छौं।’
क्यान इन्फोटेकको अवलोकनका लागि सर्वासाधारणलाई रु. १०० र विद्यार्थीलाई रु. ५० शुल्क निर्धारण गरिएको छ। इन्फोटेकको टिकेटिङ पार्टनर पेवेलको मोबाइल एप डाउनलोड गरी एपबाटै रु. २५ मा टिकट खरिद गर्न सकिने व्यवस्था ल्याइएको छ।
सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने छ । प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने बताईएको छ।
क्यान इन्फोटेकमा ब्राण्डिङ, आईसीटी एक्ससरिज, प्रडक्ट लञ्चिङसँगै आईटी करियर काउन्सिलिङ, कलेज पेभिलियन, स्टार्टअप पेभिलियन, सफ्टवेयर पेभिलियनको व्यवस्था गरिएको छ। यसपटक नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवद्र्धन गरिएको छ।
साथै क्यान इन्फोटेककै दौरान हरेक दिन नेपाल पर्यटन बोर्डको सभाहलमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य पछिल्ला टेक्नोलोजी ट्रेन्डका विषयमा कन्फ्रेन्स पनि सञ्चालन हुनेछ।
क्यान इन्फोटेक २०२३ का लागि हालसम्म ९० प्रतिशत स्टल बुकिङ भइसकेको छ। यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा गरेको क्यान महासंघले जनाएको छ।
राजधानीमा माघ २४ देखि ६ दिनसम्म देशकै ठूलो सूचना प्रविधि प्रदर्शनीको समापन भएपछि सातै प्रदेशमा क्यान इन्फोटेक मेला हुने जानकारी गराएको छ।
यसअन्तर्गत मधेश प्रदेशमा फागुन ५ देखि फागुन ९ गतेसम्म, सुदूरपश्चिम प्रदेशमा फागुन १३ देखि फागुन १७ गतेसम्म, गण्डकी प्रदेशमा फागुन २६ देखि फागुन ३० गतेसम्म र बागमती प्रदेशमा चैत २ देखि चैत ६ गतेसम्म क्यान इन्फोटेक हुनेछ । प्रदेश १, कर्णाली र लुम्बिनी प्रदेशमा पनि चाँडै नै क्यान इन्फोटेकको आयोजना मिति घोषणा हुने बताईएको छ।
प्रतिक्रिया