गोरखा । गोरखाका ३ वटा पालिकामा २ सय १९ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिका र आरुघाट गाउँपालिकामा गरी २ सय १९ वटा छाडा कुकुरको बन्ध्याकरण गरिएको हो ।
गण्डकी प्रदेश सरकारको वार्षिक कार्यक्रमअनुसार कुकुरको बन्ध्याकरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
छाडा कुकुरको सङ्ख्या नियन्त्रण गर्ने उद्देश्यले बन्ध्याकरण कार्यक्रम गरिएको केन्द्रकी निमित्त प्रमुख डाक्टर शर्मिला कुमालले बताइन् ।
गएकाे वर्ष गण्डकी गाउँपालिकाका ७८ वटा कुकुरको बन्ध्याकरण गरिएको थियो । आउँदाे वर्ष पनि अन्य पालिकामा यो कार्यक्रम सञ्चालन हुने उनको भनाइ छ ।
छाडा कुकुरबाट थप सन्तान उत्पादन नहोस् भनेर कुकुरको बन्ध्याकरण गर्ने गरिन्छ । कुनै पनि जनावर मार्न नपाइने अन्तर्राष्ट्रिय मान्यताका कारण कुकुरलाई बन्ध्याकरण गरी प्रजनन दर घटाउनका लागि कार्यक्रम सञ्चालन गरिएकाे प्रदेशको भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता डाक्टर गृष्म न्यौपानेले बताए ।
विश्वमा ३६ वर्ष पहिले अर्थात् सन् १९८६ मा कुकुरको बन्ध्याकरण अभियान सुरु भएकोमा नेपालमा भने सन् २०१० बाट सुरु भएको हो ।
जनावरको सुरक्षा, स्वास्थ्य र उद्धारको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था हिमालयन एनिमल रेस्क्यु ट्रस्टकाे सहयोगमा देशका विभिन्न पालिकाले कुकुरको बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
प्रतिक्रिया