काठमाडौँ । भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक २०२३ मा अवलोकनकर्ताको आकर्षण देखिएको छ।
मंगलबारदेखि सुरू भएको क्यान इन्फोटेकमा सूचना सञ्चार प्रविधिको प्रदर्शनीलाई लक्षित गरी विभिन्न प्रविधि कम्पनी, संघसंस्थाहरूले आफ्नो ब्राण्ड प्रवर्द्धन गर्दै विशेष छुट र अफर घोषणा गरेका छन्।
प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज, आइटी ट्रेनिङ तथा इन्स्टिच्युट, स्टार्टअप तथा इनोभेसन, नेटवर्किङ प्रडक्टलगायतका स्टलमा अवलोकनकर्ताको बढी चासो रहेको बताइएको छ।
क्यान इन्फोटेक २०२३ को शीर्ष प्रायोजक इन्फोडेभलपर्सले नेपालको पुरानो र चर्चित कोर बैंकिङ सोलुसन्स ‘पुमोरी’को विशेष प्रवर्द्धन गरेको छ।
तीन दशकदेखि बैंक तथा वित्तीय क्षेत्रमा पुमोरी सफ्टवेयर प्रयोग हुँदै आएको छ। साथै इन्फोडेभलर्सले इन्फिनिटी, इम्पावर, मोबाइल बैंकिङ, वेल्थ लगायतका प्रडक्टको पनि प्रदर्शनी गरिरहेको छ।
त्यस्तै, इन्फोटेकको एसोसिएट स्पोन्सर डिशहोम फाइबरनेटले ‘चल्छ हैन दौडिन्छ, घरको कुना कुनामा’ नारा सहित आफ्नो ब्रोडब्यान्ड इन्टरनेट र आईपी टिभीका विभिन्न प्याकेजको विशेष प्रवर्द्धन गरेको जनाइएको छ।
यसअन्तर्गत कम्पनीले ५० एमबिपिएसदेखि ६०० एमबिपिएससम्मका इन्टरनेट प्याकेज ल्याएको छ। मेलाको डायमन्ड स्पोन्सर रहेको नेपाल टेलिकमले अवलोकनकर्तालाई निःशुल्क सिम वितरण गरिरहेको छ।
साथै टेलिकमले स्टलबाटै इ–सिम अपग्रेडको सेवा पनि दिइरहेको छ भने हालै ल्याइएको एनिभर्सरी अफरबारे ग्राहकलाई जानकारी दिइरहेको छ।
त्यस्तै, गोल्ड स्पोन्सर माया एनिमेसन एकेडेमीले इन्फोटेक अवलोकन गर्नेहरूका लागि एनिमेसन, भीएफएक्स, मोसन ग्राफिक्स, मुभी एडिटिङ, ग्राफिक्स डिजाइनिङ, अटो क्याड लगायतका कोर्षमा ५० प्रतिशतसम्मको छुट घोषणा गरेको छ।
मेलाको टिकेटिङ पार्टनर पेवेलले आफ्नो एपमार्फत क्यान इन्फोटेकको टिकट २५ रुपैयाँमै उपलब्ध गराइरहेको छ। साथै पेवेलले आफ्नो क्युआर भुक्तानी सेवासमेत क्यान इन्फोटेककै अवसर सार्वजनिक गरेको छ।
मोबाइल सेवाप्रदायक एनसेलले निःशुल्क सिम वितरणको योजना सञ्चालन गरिरहेको छ। साथै एनसेलले ‘होम एन्ड अवे’ डेटा प्याकेजबारे पनि जानकारी दिइरहेको छ।
यस्तै, मेलामा इन्टरनेट सेवाप्रदायक भायानेट, सुबिसु लगायतका कम्पनीहरूले अवलोकनकर्ताका लागि विभिन्न प्याकेजहरू सार्वजनिक गरेका छन्।
छुट सुविधासहितका उक्त प्याकेजमा ग्राहकले कम मूल्यमा इन्टरनेट सेवा लिन सक्ने सुविधाहरू राखिएको आयोजकले बताएको छ।
त्यस्तै, कान्तिपुर सिटी कलेजले क्यान इन्फोटेकको अवसर पारी विभिन्न कोर्षमा ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गरेको छ।
त्यस्तै इसेट एन्टिभाइरसमा ६० प्रतिशत छुट घोषणा गरिएको छ। भुक्तानी सेवा प्रदायक आइएमई पेले अवलोकनकर्तालाई लागि निःशुल्क भिसा कार्ड प्रदान गरिरहेको छ।
त्यस्तै स्टलबाटै आइएमई पेले ग्राहकको केवाइसी भेरिफाइड समेत गरिरहेको बताइएको छ। अर्कोतर्फ कम्प्युटर र एक्सेसरिज लगायतका ब्राण्डले अवलोकनकर्ता आकर्षित गर्न सोही अनुसारका छुट तथा अफर सञ्चालन गरेका जनाइएको छ।
यसअन्तर्गत यु सफ्ट कम्प्युटर टेक्नोसिसले ल्यापटप, गेमिङ पिसी लगायतका प्रडक्टका लागि फ्रि सर्भसिङ अफर ल्याएको छ।
विभिन्न ब्राण्डका केही कम्पनीहरूले ५० प्रतिशतभन्दा बढीको छुट दिइरहेका आयोजकले बताएको छ।
छुट धेरै हुने र केही ब्राण्डका पोर्टेबल एक्सेसरिजमा अवलोकनकर्ताको बढी भीड लाग्ने गरेको आयोजक क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए। १५० भन्दा बढी स्टलसहित सञ्चालन भइरहेको यो मेला आइतबारसम्म चल्ने छ।
प्रतिक्रिया