काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागि परेको बताएकी छन् ।
मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरकारले आवश्यक कानुनहरु निर्माणका लागि तत्काल संसदमा पेश गर्ने तयारी गरिरहेको उल्लेख गर्दै त्यसका लागि सुझाव दिन पनि सम्वद्ध सबै पक्षलाई आग्रह गरिन् ।
काठमाडौंको भृकुटीमण्डपमा मंगलबारबाट सुरु भएको ‘सूचना प्रविधि मेला’को उद्घाटन गर्दै मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढन पनि निजी क्षेत्रलाई आह्वान गरेकी हुन् । उनले सरकारसँग सम्बन्धित निकायले पनि यस क्षेत्रको कामलाई अपेक्षित ढंगले अघि बढाउन नसकेको स्विकार गर्दैै त्यस काममासम्बन्धित सबैको ज्ञान, सीप र अनुभवको उपयोग गर्न जरुरी रहेको समेत बताइन् ।
मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकास गरेर मुलुकलाई अघि बढाउन महत्वकांक्षी योजनाहरु अघि सार्ने योजना पनि सार्वजनिक गरेकी हुन् । उनले भनिन्, ‘नेपाल सरकारले सूचना प्रविधिको क्षेत्रमा हामीले गर्नुपर्ने लगानी, हामीले गर्नुपर्ने सहयोग, हामीले गर्नुपर्ने कुराहरु के-के हुन्छन भन्ने कुरामा पनि एउटा छलफल जरुरी छ भन्ने मलाई लागेको छ । हाम्रो क्यान महासंघकै तर्फबाट अघि अनौपचारिक रुपमा थोरै कुरा भएको छ ।
मन्त्रालयबाट हामीले यस क्षेत्रमा गर्न सक्ने सहयोगहरु के के हुन सक्छन ? कमजोर अवस्था रहेकाले धेरै सहयोग गर्न नसकौला । तर पनि केही न केही त यस क्षेत्रमा गर्नैपर्ने हुन्छ । यसका निम्ति यहाँहरुका आईडियाहरु, सुझावहरु पनि मन्त्रालयले प्राप्त गर्न सकोस् । त्यसका निम्ति पनि ध्यान दिनुहुनेछ भन्ने आसा छ ।
र, हामीले यस क्षेत्रको विकासको निम्ति सूचना प्रविधि मन्त्रालयको मन्त्रीको हैसियतले म के प्रतिवद्धता व्यक्त गर्न चाहन्छु भने यस क्षेत्रको विकास, निर्माण र राष्ट्र अघि बढाउनका लागि सविस्तार अध्ययन गरेर अघि बढनेछौं । यसका निम्ति यहाँहरुको सहयोग प्राप्त हुनेछ भन्ने अपेक्षा गर्दछु । यस सम्बन्धमा हाम्रा कानुनमा पनि लुप होलहरु छन । कानुन बनिसकेका छैनन् । कानुनहरु बनाउने कुराहरु पनि छन ।
प्रतिक्रिया