रामेछाप । रामेछापको गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने गुम्देलमा तीन दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । चामरुको जंगलबाट आइतबारदेखि डढेलो सुरु भएको हो ।
डढेलो निभाउन विभिन्न उपाय लगाए पनि भिरालो जमिन र घना जंगल भएकाले कठिनाई भएको प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बताए । ‘हामीले नेपाली सेना, प्रहरी, वनका कर्मचारीहरु र स्थानीय बासिन्दाको सहयोग लिएर आगो निभाउने प्रयास गरिरहेका छौं,’ जिल्ला विपद व्यवस्थापन समितिका संयोजक रहेका रेग्मीले भने, ‘तर सकिएको छैन, प्रयास अझै जारी छ ।’
करिब १ सय ५० जना स्थानीय पनि डढेलो निभाउन जुटिरहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । तत्काल निभाउन नसकेमा सानो वाल्दिङ, चामरु र ज्यादे कुडारमा डढेलो फैलिन सक्ने स्थानीय रोकट बस्नेतले बताएका छन् । उनले डढेलो लागेको क्षेत्रमा दुर्लभ मानिएका रेडपान्डालगायत जिवजन्तुको बासस्थान रहेको बताए । केही चौँरी र भेडीगोठसमेत उक्त क्षेत्रमा रहेका छन् ।
चामरुबाट डढेलो सुरु हुनासाथ स्थानीय र नजिकैको बाम्तीबाट प्रहरी पुगे पनि आगो नियन्त्रणमा आउन नसकेको हो । तर सुख्खा पतझर पाखोमा डढेलो तीव्र रुपमा फैलिएकाले निभाउन प्रयास सफल भएन । सोमबार ग्लोबल हाईड्रोमा रहेको नेपाली सेनाको टुकडीसमेत डढेलो निभाउन परिचालन गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले सोमबार साँझ नियन्त्रण हुने अवस्थामा पुगेको डढेलो मंगलबारबाट थप क्षेत्रमा फैलिएको बताए । उनले अहिले उक्त क्षेत्रमा अनियन्त्रित रुपमा डढेलो फैलिएको जानकारी दिए । ‘अझै पनि प्रहरी डढेलो लागेको क्षेत्रमा अग्नी रेखा बनाउने प्रयासमा रहेको तर आगो जताततै फैलिएकोले भीरमाथि बसेर अग्नी रेखा बनाउन सकिरहेको अवस्था छैन,’ पराजुलीले भने ।
उमाकुण्ड-१ गुम्देलको वडा कार्यालयले चामरुको जंगलमा लागेको डढेलो निभाउन नसकिएकोले आफ्नो सुरक्षा आफै गर्न सूचना जारी गरेको छ । वडाध्यक्ष ङावा तिण्डु शेर्पाले सूचना जारी डढेलो नियन्त्रण बाहिर गएको जनाएका छन् । डढेलो बस्ती नजिक पुगे गुम्देलका ३२ परिवार जोखिममा पर्नेछन् ।
प्रतिक्रिया