सर्लाही । सर्लाही सब डिभिजन वन कार्यालयका कर्मचारीहरूको दिनचर्या तुलनात्मक रुपमा पहिले को भन्दा आजभोलि फेरिएका छ । हाजिर गरेर निजी काममा हिँड्ने वन अधिकृत, कर्मचारी र वन रक्षकहरू अहिले प्रया कार्यालयमा भेटिने गरेका छन् ।
५ दशकपछि सब डिभिजन वन कार्यालय बाँकेमा खानेपानीको व्यवस्था भएपछि कर्मचारीको दिनचर्या फेरिएको हो । विगतमा खानेपानीको अभाव हुँदा जङ्गल संरक्षणमा खटिएका कर्मचारी तथा वन रक्षकहरू कार्यालयमा हाजिर गरेर बजारमा डेरा लिएर बस्ने र दिनभर निजी काममा खट्ने गर्दथे ।
जसले गर्दा जङ्गलमा चोरी तस्करी तथा वन क्षेत्रको अतिक्रमण समेत समेत बध्न्र गरेको थियो । तर, खानेपानीको व्यवस्था भएपछि आजभोलि कर्मचारी र वन रक्षकहरू वन जङ्गल संरक्षण र कार्यालयमै खट्ने गरेका छन् ।
सब डिभिजन वन कार्यालय बाँके, सर्लाहीका वन रक्षक शुभकर्ण रायले विगतमा पिउन, खाना पकाउन र नुहाईधुवाईका लागि पानीको अभाव हुने हुँदा १२ किलोमिटर पर जिल्ला वन कार्यालय पुगेर पानी ओसार्नुपर्ने बाध्यता रहेको बताए ।
‘५० वर्षदेखि जिल्ला वन कार्यालयबाट पानी ओसारेर यहाँका कर्मचारीले खाइरहेका थिए,पानीको समस्या धेरै थियो, तर अहिले धेरै सुविधा भएको छ’ वन रक्षक रायले भने । सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित सो सब डिभिजन वन कार्यालय आसपासको क्षेत्रमा यसअघि पटक पटक बोरिङ खनेर पानी निकाल्ने प्रयास भए पनि सफल भने हुन सकेको थिएन ।
यस पटक भने सर्लाही डिभिजन वन अधिकृत मन्जुर अहमदको पहलमा प्राविधिक टोलीको अध्ययनपछि ३ सय फिट तल खन्दा पानी भेटिएको र विद्युत् लाइन नभएका कारण हेभी जेनरेटरको प्रयोग गरेर बोरिङको माध्यमबाट पानी निकालिएको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ ।
‘विगतमा पानी निकाल्ने मेशिन नै ल्याएर बोरिङ खन्दा पनि कसैले जिम्मा नलिने, पानी पनि नभेटिने समस्या थियो तर यस पटक पानी ननिकाले पैसा नदिने सर्तमा खन्दै जाँदा ३ सय फिट तल पानी भेटिएको छ’ वन रक्षक रायले भने ‘अहिले पानीको व्यवस्था भएपछि सबै कर्मचारी, वन रक्षकहरू कार्यालयकै आवास गृहमा बस्ने खाने र जङ्गलको संरक्षणमा पनि लागेका छन्’ ।
प्रतिक्रिया