• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अन्तत: बुझाए रविले राजिनामा, फैसलाबारे के भने प्रचण्डले ?

    1.3K
    SHARES


    काठमाडौँ । सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका हुन् ।

    सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका लामिछाने पद ३२ दिनमै गएको छ । यसैबीच सांसद पद खारेज भएपछि गृह मन्त्रालयबाट बाहिरिँदै रवि लामिछानेले यतिबेर आफू परिचय नभएको अनागरिक भएको बताएका छन् ।

    उनले संचारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सर्वोच्च अदालतको फैसलालाई आफूले सम्मान गर्ने बताए ।उनले अहिले आफू अनागरिक भएकोले कसलाई प्रश्न सोध्नु भएको भन्दै संचारकर्मीलाई प्रतिप्रश्न गरे ।

    ‘अनागरिकलाई प्रश्न गर्नु भएको छ । थाहा छैन । एउटा अनागरिकले के गर्छ ?’ उनले भने, ‘अदालतको फैसलालाई स्वागत गर्छु । म अध्यक्ष छैन, केही पनि होइन । यतिखेर म परिचय नभएको अनागरिक भएको छु ।’

    सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार लामिछानेको नेपाली नागरिकता प्राप्ति र अमेरिकी राहदानीका सम्बन्धमा परेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सांसद पद खारेज गरेको छ ।

    लामिछानेको सांसद बन्न अयोग्य रहेको र नेपाली नागरिकता लिने प्रक्रिया नै पुरा नगरेको भन्ने फैसला गरेपछि उनको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ ।

    रवि लामिछानेले दुई महिनाअघिको आम चुनावमा नारा दिएका थिए – जान्नेलाई छान्ने । ६ महिनाअघि राष्ट्रिय स्वतन्त्र पार्टी खोलेर प्रत्यक्ष राजनीतिमा होमिने निर्णय गर्दैगर्दा उनले यो कुरा जानेनन्- नेपालमा राजनीति वा कुनै पनि खालको सार्वजनिक जीवनयापन गर्न नेपाली नागरिक भएको हुनुपर्छ । र, नेपाली नागरिकताको प्रमाणपत्र नै त्यसको सूचक हो ।

    रविको नागरिकताबारे कसैको ध्यान गएन, बरु उनले दिएका नारालाई आम मतदाताले छिटोगरी टिपे । चितवन २ बाट उनले अघिल्लो संसदका ‘जान्ने’ सांसद कृष्णभक्त पोखरेललाई फराकिलो अन्तरले हराए पनि । तर विधिको शासनलाई उनले गरेको आधारभूत उपेक्षालाई सर्वोच्च न्यायालयले लगाम लगाइदिएको छ ।

    विडम्बना, नेपालको कानुन उल्लंघन गर्दै उनै रवि चुनावी प्रक्रियामा सामेल भए । सांसद र कानुन पालनाको तालुकदार मन्त्रालयको प्रमुख अर्थात गृहमन्त्री नै बन्न पुगे । उनको यो ‘मेटियोरिक राइज’ आजको फैसलासँगै ‘स्टिप फल’ मा रुपान्तरण गरिदिएको छ ।

    तर यो उनको स्थायी राजनीतिक बिराम भने होइन । रविप्रति नेपालको न्यायालय केही उदारमना भएको देखिन्छ । चाहे भने उनी तत्कालै नेपाली नागरिकताको प्रमाणपत्र लिन सक्छन् । अब हुने चितवन २ को उपनिर्वाचनमा उनी फेरि सामेल हुन सक्छन् । यसका केही तात्कालिक तरंग भने उत्पन्न भएका छन् ।

    पहिलो, नैतिक प्रश्न । उनको मन्त्री, सांसद तथा पार्टी सभापति पद गुमेसँगै कानुनी प्रक्रियाबाट पुनःप्राप्ति त होला । तर उनीमाथि ठूलो नैतिक प्रश्न उत्पन्न हुने छ । आफूमाथि उठेका प्रश्नसँगै बाझिएको स्वार्थको द्वन्द्व व्यवस्थापन नगरी गृह मन्त्रालय सम्हाल्ने उनको आँट पक्कै स्वभाविक थिएन । नेपालको नागरिकता पुनप्राप्तिसमेत नगरी राज्यको यति संवेदनशील निकायमा बागडोर सम्हाल्न जाने उनको धृष्टताबारे प्रश्नहरु उठिरहने छन् । अनि उनको निजी जीवनसँग जोडिएका कतिपय प्रश्नमाथि प्रश्नहरु अझै बाँकी छन् ।

    दोस्रो, उनको दलको भविष्य । घन्टी चिह्नमा चुनाव लडेको रास्वपालाई मानिसहरुले दलको नामभन्दा बढी रविको पार्टी अथवा घन्टी भनेर चिन्ने गर्छन् । यो पार्टीमा थुप्रै सम्भावना भएका नेता, सांसद देखिएका भए पनि रविको व्यक्तित्वले तिनलाई छोपेको छ । उनीमाथि नै सार्वजनिक प्रश्न उठिसकेपछि पार्टीको भविष्यबारे स्वभाविक चासो उत्पन्न हुने छ ।

    तेस्रो, सत्ता गठबन्धनको आसन्न संकट । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले अकस्मात् बनाएको नयाँ गठबन्धनका एक मूख्य साझेदार हुन् रवि । काठमाडौंका राजनीतिवेत्ताहरुले प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ गठबन्धन भत्कोस् भन्नका लागि प्रयास गरेको अर्थमा समेत यो प्रकरणलाई लिएका थिए । १६८ सांसदको समर्थनमा बनेको यो गठबन्धनमा रविको पार्टीबाट रहेका बाँकी १९ सांसद अब कुन राजनीतिक सहजतामा काम गर्लान् भन्ने प्रश्न पनि छ ।

    संसदीय दलमा रविको अनुपस्थितिमा उपनेता विराजभक्त श्रेष्ठले नेतृत्व गर्नेछन् । तर योसँगै दलभित्रको आन्तरिक झगडा पनि सतहमा आइरहेको छ । कतिपयले दल नै विभाजन सम्म हुन सक्ने आकलन गरेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ