• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    रवि लामिछानेमा कानुन मिच्ने प्रवृत्ति देखिन्छ : अधिवक्ता भण्डारी

    1.5K
    SHARES



    काठमाडौँ । वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमा कानुन मिच्ने प्रवृत्ति देखिएको जिकिर गरेका छन् । संवैधानिक इजलासमा रविको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइका क्रममा जवाफी बहस गर्दै उनले यस्तो बताएका हुन् ।

    ‘कानुन मिच्ने प्रवृत्ति उहाँमा पहिलेदेखि नै थियो । पारिवारिक भिसामा नेपालमा आएर उहाँले काम गर्नुभयो । त्यसमा विवाद भयो ।

    पछि अमेरिकाको नागरिकता त्यागेको डकुमेन्ट निर्वाचन आयोगमा मात्रै पेस गरेको देखिन्छ’, भण्डारीले भने, ‘विदेशमा त्यागेको निस्सा तोकिएको अधिकारीलाई पेस गर्नुपर्नेमा अहिलेसम्म पेस गरेका छैन ।’

    रवि पक्षका वकिलले यसअघि यो मुद्दा संवैधानिक इजलासको कार्यक्षेत्रमै पर्दैन भनेर जिकिर गरेकोप्रति जवाफ दिँदै उनले संविधानको धारा ९० अनुसार सांसदको अयोग्यताको प्रश्न संवैधानिक इजलास नै हेर्ने व्यवस्था गरेको स्पष्ट गरे ।

    रविको नागरिकतासम्बन्धी विवादमा नागरिकतासम्बन्धी कानुनको दफा ११ पूर्ण आकर्षित हुने भण्डारीको भनाइ छ । उनले रविले नागरिकता पाउनका लागि प्रक्रियामा जानैपर्ने पनि बताए ।

    उनले अहिलेसम्म रविले नागरिकता त्यागेको राज्यलाई थाहा नभएको पनि जिकिर गरे । नागरिकतासम्बन्धी संशोधन ऐनले नागरिकता पुनः पाउन निस्सा दर्ता गरेर मात्रै निर्णय हुने व्यवस्था गरेको पनि उनले बताए ।

    ‘मलाई कानुन लाग्दैन, प्रक्रिया लाग्दैन भन्नु ठीक होइन’, उनले भने, ‘सिडिओ कार्यालयमा गएर नागरिकताको विषयमा सहीछाप गर्नुपर्छ ।

    तर, उहाँ राज्यलाई अन्डर माइन्ड गर्नुहुन्छ ।’

    यस्तै, लामिछानेको नागरिकता तथा राहदानी विवादसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइअन्तर्गत बहस सकिएको छ । बुधबारदेखि अन्तिम सुनुवाइ सुरु भएकोमा आज बहस सकिएको हो ।

    बहस सकिएसँगै संवैधानिक इजलासका न्यायाधीशहरू आदेशलाई अन्तिम रूप दिन कागेका छन् ।  सर्वोच्च अदालत प्रशासनले अब केही बेरमा मुद्दाको विषयमा इजलासबाट निर्णय आउने जानकारी दिएको छ ।

    आज लामिछानेका तर्फबाट ४ जना कानुन व्यवसायीले गरेका हुन् । वरिष्ठ अधिवक्ता नरेन्द्र केसी तथा अधिवक्ताहरू आशिष् अधिकारी, सुदिप पन्त र यज्ञमणि न्यौपानेले लामिछानेको प्रतिरक्षामा बहस गरेका थिए ।
    यस्तै, रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र रमण कर्ण तथा अधिवक्ता अनिता श्रेष्ठले जवाफ बहस गरेका हुन् ।
    जवाफ बहसका क्रममा रिट निवेदक पक्षका कानुन व्यवसायीले व्यक्ति स्टेटलेस (राज्यविहीन) नहुने हो भने राज्य पनि ‘ललेस’ (कानुनविहीन) हुन नसक्ने जिकिर गरे । कानुन राज्यको मान्यता स्थापित गर्न पनि रविविरुद्धको रिट जारी हुनुपर्ने निवेदक पक्षका कानुन व्यवसायीले दाबी छ ।
    लामिछानेले अमेरिकी नागरिकता तथा पासपोर्ट त्याग नगरी (त्याग गरेको निस्सा नदिई) राजनीतिक दल दर्ता गरेको, निर्वाचनमा प्रतिस्पर्धा गरेको तथा निर्वाचित भएको भन्दै उनको सांसद पद खारेजी लगायतका कारबाहीको माग गर्दै अधिवक्ता रबिराज बसौला समेत तथा युवराज पौडेलले सर्वोच्चमा छुट्टा–छुट्टै २ थान रिट दायर गरेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया