पाल्पा। पाल्पामा गएराति टिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
दुर्घटनामा गल्याङ्ग नगरपालिका-१ राम्दी, स्याङ्जाका २२ वर्षीय सरोज न्यौपानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ।
सिद्धार्थ राजमार्ग अन्तरगत तिनाउ गाउँपालिका-५ केराबारी नजिकै पाल्पाबाट बुटवलका लागि छुटेको ना ८ ख ७९२४ नम्बरको टिपर सडकबाट खसेको हो ।
न्यौपानेको शव आज बिहान तिनाउ खेलामा भेटिएको छ । घटनाको बारेमा आवस्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । तीन पालिकाका पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको हो ।
अहिले वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक-एक जनामा दादुरा सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए ।
छिमेकी जिल्ला बाँकेमा दादुरको सङ्क्रमण तीव्र भइहहेका बेला सुर्खेतमा पनि सङ्क्रमण देखिएकाले सतर्कता अपाउन उनले सुझाव दिए ।
दादुरासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि परीक्षण गर्दा दादुरा पुष्टि भएको केसीको भनाइ छ ।
दादुराका बिरामी भेटिएपछि प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले अहिले विभिन्न ठाँउमा परीक्षण र खोप अभियानलाई तीव्रता दिएको छ । नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्ने लक्ष्य राखेको थियो ।
प्रतिक्रिया