काठमाडौँ। दिनेश प्रजापति र रमेश अधिकारी सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्लेका उपाधिका लागि भिड्ने भएका छन् ।
रोयल नेपाल गल्फ क्लबमा बुधबार भएको सेमिफाइनलमा १३ औँ वरीयताका रमेश अधिकारीले १० औँ वरीयताका भुवनकुमार रोक्कालाई २-१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका छन् ।
यसैगरी, अर्को सेमिफाइनलमा सातौँ वरीयताका दिनेश प्रजापतिले आठौँ वरीयताका धनबहादुर थापालाई २-१ ले नै निराश पार्दै रमेशसँगको उपाधि भिडन्त पक्का पारेका छन् । सूर्य नेपाल टुरमा करिअरकै पहिलो उपाधि जित्ने दाउमा रहेका दिनेश एक खेल टाढा रहेका छन् ।
दिनेश र रमेशले उपाधिका लागि बिहीबार ३६ होलको प्रतिस्पर्धा गर्नेछन् । धन र भुवनले तेस्रो स्थानका लागि १८ होलको खेल खेल्ने भएका छन् । यसअघि क्वार्टरफाइनलमा अप्रत्याशित नतिजा आउँदा शीर्ष पाँचपछिका खेलाडीहरूले उपाधिमाथि दाबेदारी दिएका हुन् ।
नेपाल नम्बर एक खेलाडी शुक्रबहादुर राई, दोस्रो वरीयताका भुवन नगरकोटी, तेस्रो वरीयताका जयराम श्रेष्ठ र पाँचौँ वरीयताका रवि खड्का क्वार्टरफाइनलबाट बाहिरिएका थिए । शुक्रबहादुरमाथि १० औँ वरीयताका भुवनकुमार रोक्काले ३-१ ले स्तब्ध पारे ।
अर्को क्वार्टरफाइनलमा धनबहादुरले भुवनलाई ३-२ ले हराउँदै अन्तिम चारमा स्थान बनाएका थिए । यसैगरी, दिनेश प्रजापतिले तेस्रो वरीयताका जयराम श्रेष्ठलाई ३-२ ले हराए । पूर्व नम्बर एक खेलाडी रवि खड्कामाथि १३ औँ वरीयताका रमेश अधिकारीले रोमाञ्चक जित निकाले ।
प्रतिक्रिया