काठमाडौँ। सत्तारूढ दल माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा समसामयिक राजीतिक अवस्था र पार्टी एकताको विषयमा छलफल हुने जनाइएको छ ।
एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीसँग एकताको विषयमा भएको वार्ताबारे बैठकमा छलफल हुनेछ । एकीकृत समाजवादीसँग ठोस ढंगले एकता प्रक्रिया अगाडि नबढे पनि नेसपासँग छिट्टै एकता गरेर जाने सझदारी छ ।
‘पार्टी एकता गरेर जाने समझदारी कार्यदलमा भएको छ । मुलना नसकेका विषय विशेष महाधिवेशनबाट मिलाउने समझदारी छ,’ नेसपा सहअध्यक्ष एवं कार्यदल संयोजक गंगानारायण श्रेष्ठले भने ।
माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले एकतासम्बन्धी प्रस्ताव पनि बैठकको एजेन्डा हुने बताएका छन् । ‘नेसपासँग वार्तामा केही प्रगति भएको छ ।
अन्य पार्टीसँग अहिलेसम्म ठोस प्रगति भइसकेको छैन । स्थायी कमिटी बैठकमा पार्टी एकताको एजेन्डामा पनि छलफल हुन्छ,’ उनले बताए ।
स्रोतका अनुसार माओवादी र नेसपाबीच नामको विषयमा कुरा मिल्न बाँकी छ । दुवै पार्टीका कार्यदलबीच पटक-पटक छलफल भए पनि नाममा सहमति जुटेको छैन ।
माओवादीले पार्टीको नाम नयाँ राखे पनि नेकपा छुटाउन नहुने बताएको छ भने समाजवादी पार्टी राख्नुपर्ने नेसपको अडान छ । समाजवादी मात्रै राख्दा सम्पूर्ण वाम-समाजवादी शक्तिलाई समेट्न सकिने नेसपाको तर्क रहेको छ ।
प्रतिक्रिया