सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका-२ ठोकर्पामा सञ्चालित ठोकर्पा पशु तथा कृषि फार्ममा आगलागी भएको छ ।
आगलागी बाट ५० लाख बढीको क्षति भएको छ । फार्ममा एक सय २० बाख्रा रहेका थिए ।
बुधबार बिहान आगलागीमा परेर ८१ बाख्रा मरेको सुनकोसी-२ का वडाध्यक्ष पूर्णबहादुर महतले बताएका छन् । बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने वडाध्यक्ष महतले बताए ।
आगलागीबाट फार्मको सम्पूर्ण भौतिक संरचनासमेत जलेर नष्ट भएको छ । बाख्राका लागि आवश्यक दानालगायत अन्य सामग्रीसमेत जलेर नष्ट भएको वडाध्यक्ष महतले जानकारी दिएका छन् ।
स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । स्थानीय जालबहादुर केसीले २ करोड बढी लगानीमा कृषि तथा पशु फार्म सञ्चालनको सुरुआत गरेका थिए ।
विदेशबाट फर्किएका एक जना आफन्तसहित मिलेर सञ्चालन गरेको फार्मबाट केही समयपछि नै उत्पादन सुरुआतको चरणमा भए पनि आगालागीबाट सबै क्षति भएको केसीले बताए ।
गाउँपालिकाले सहयोग गर्ने स्थानीय युवाको सक्रियतामा गाउँमा नै आयआर्जन गर्ने उद्देश्यले करोडौँको लगानीमा सञ्चालन भएको कृषि फार्र्ममा आगलागी भएपछि युवाको उत्साहलाई कायम नै राख्नका लागि सुनकोसी गाउँपालिकाले सहयोग गर्ने भएको छ ।
आगलागीको स्थलगत निरीक्षणमा पुगेका गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले तत्कालको लागि गाउँपालिकाले ५ लाख सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया