काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी नेसपा बीचको एकता पार्टीको नाममा पुगेर अड्किएको छ ।
माओवादी केन्द्रका वार्ता टोलीका संयोजक कृष्णबहादुर महरा र नेसपाका वार्ता टोलीका संयोजक गंगानारायण श्रेष्ठबीच दुई पटक छलफल गरेपनि अन्तिममा पार्टीको नामलाई लिएर अड्किएको हो ।
संयोजक श्रेष्ठले नेकपा नराखेर समाजवादी पार्टी बनाउनुपर्ने अडान राखेका छन् भने महरासहितको टोली पार्टीको नाम नयाँ राखेपनि नेकपा छुटाउन नहुने पक्षमा छ । पार्टी एकताका विषयमा वार्ता टोलीबाट कुरा नमिल्ने देखिएपछि शिर्ष नेताहरु बसेर टुंगो लगाइने भएको छ ।
अब माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेसपा अध्यक्ष बाबुराम भट्टराई बसेर पार्टी एकताका विषयमा छलफल गरेर टुंगो लगाउने जिम्मा दिएको छ । पार्टीको चुनाव चिन्हका विषयमा भने कुनै समस्या नहुने नेताहरूले बताएका छन् ।
यस्तै, नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताएको छ ।
नागरिक उन्मुक्तिको समर्थनमा एमालेका राजेन्द्र रावल २७ पुसमा मुख्यमन्त्री बनेका थिए । उनले एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्छ ।
तर नागरिक उन्मुक्तिले समर्थन गर्ने सुनिश्चित नभएका कारण अहिलेसम्म विश्वासको मत लिएका छैनन् । उनले शीर्ष तहबाटै सहमति खोजेका छन् । तर नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले भने सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने बताएकी छन् ।
प्रतिक्रिया