काठमाडौं। प्रदेश १ संसद सचिवालयका अधिकृतको मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएको छ ।
कोसी लोकमार्गअन्तर्गत विराटनगर ३ स्थित ढाटमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा सचिवालयका अधिकृत प्रेमबहादुर श्रेष्ठको मृत्यु भएको हो ।
सरकारी मोटरसाइकल चलाएर सुनसरीको धरान उपमहानगरपालिका-८ घरबाट विराटनगरस्थित संसद सचिवालयतर्फ जाने क्रममा ५५ वर्षीय श्रेष्ठ दुर्घटनामा परेका हुन् ।
प्रहरीकाअनुसार श्रेष्ठ सवार प्रदेश १-०४-००१ ब ०००७ नम्बरको मोटरसाइकल र विपरितदिशाबाट आउदै गरेको को ३८ प ५३८७ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाएका थिए ।
दुर्घटनामा गम्भीर घाइते श्रेष्ठको मोरङको विराट शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । दुर्घटनामा स्कुटर चालक बूढीगंगा गाउँपालिका-२ का ३५ वर्षीय रोशन विक र पछाडि सवार विराटनगर-४ का २५ वर्षीय विशाल प्रसाईं सामान्य घाइते भएका छन् ।
उनीहरुको विराटमै उपचार भइरहेको छ भने मोटरसाइकल र स्कुटरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया