काठमाडौँ। देशमा गरिखाने अवस्था नरहेको भन्दै एक युवाले काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका छन् ।
इलामको सूर्योदय नगरपालिका-११ केराबारीका ३६ वर्षीय प्रेमप्रसाद आचार्यले आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनास्थलमा पुगेर प्रहरीले आचार्यको ज्यान जोगाएको थियो। त्यहाँबाट उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ र अहिले उनि सोहि अस्पतालमा छन् ।
आहिले आइसीयुमा राखेर उनको उपचार भइरहेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले बताए । आचार्यले आत्मदाहको प्रयास गर्नुअघि फेसबुकमा आफूले देशभित्रै उद्यम गरेकोदेखि लिएर विदेशसम्म पुग्दा भोगेका पीडाबारे लामो फेहरिस्त लेखेका छन् । जसमा उनले सुरूवातमा आफूलाई ‘म एक आम युवा, आम उद्यमी, आम व्यवसायी’ भनेर परिचय दिएका छन् ।
त्यसपछि आफूले रंगीन सपना बुनेर परिवार, समाज र देशप्रतिको जिम्मेवारी वहन गर्दै अघि बढेको उल्लेख गरेका छन् । ‘आज ३७ औं वसन्त पार गरिसक्दा पनि गरिएका कर्मबाट केही उपलब्धि हासिल गर्न नसकेको’ भनेर उनले लेखेका छन् ।
त्यस्तै अगाडि उनले आफूले नेपालमै पढ्दा, जागिर खाँदा, व्यापार गर्दा, उद्योगधन्दा चलाउँदा र वैदेशिक रोजगारमा जाँदा भोगेका समस्याहरूबाट गुजार्नुपरेको र हालसम्म शून्य उपलब्धि भएको पनि उल्लेख गरेका छन् । त्यसलाई उनले आफ्नो ‘आत्मवृत्तान्त र असफलताको कथा’ भनेका छन् ।
इलाममा रहेको पैतृक सम्पत्ति बेचेर काठमाडौंमा घर बनाएपछि आफूले ट्राभल एजेन्सी खोलेर व्यवसायमा संलग्न भएको कुरा उनले उल्लेख गर्दै उक्त व्यवसाय सुरुमा राम्रै चले पनि पछि बिग्रिएको बताइएको छ । त्यसक्रममा आफ्नो व्यवसाय डुबेका कारणहरू पनि खुलाएका छन् ।
‘ट्राभल बेचेर विदेश जाने जमर्को गरियो । त्यसबेलासम्म काठमाडौंको घरजग्गा सम्पत्ति सबै सकियो र उल्टो ऋण लाग्यो,’ उनले लेखेका छन् । त्यसपछि विदेशमा बसेर केही ऋण तिरेको र बचेको पैसा बोकेर सन् २०१७ मा नेपाल फर्किएको उल्लेख गरेका छन् । फेसबुकमा उनले विदेशबाट फर्किएपछि इलाम गएर उद्यममा लागेको र त्यो पनि सफल नभएकोदेखि लिएर आफू आत्मदाहको स्थितिमा पुग्नुसम्मका कारणहरूको फेहरिस्त लेखेका छन् ।
प्रतिक्रिया