दाङ । मणिवाला सर्प भन्दै लगभग १ तोला सुनको गरगहना र नगद १ हजार रुपैयाँ ठगी गरेको अभियोगमा सुनसरी रामधुनी नगरपालिका-३ बस्ने ३५ वर्षीय मोहमद सलमानलाई प्रहरीले पक्राउ गरेको छ ।
दाङको लमही नगरपालिका-९ जलकुम्भीबाट उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
राप्ती सोनारी गाउँपालिकाकी एक महिलालाई सलमानले मणिवाला सर्प हो भनी लोभलालच देखाई उक्त धनमाल ठगी गरेको खुल्न आएपछि पीडितका आफन्तको सहयोगमा ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले हाल फरार सलमानसँग आएका अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यस्तै, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठ ५८ औं वार्षिकोत्सव मनाइरहँदा बैंक प्रशस्त जनविश्वास आर्जन गर्न सफल भएको बताएका छन् ।
‘यो सरकारको पूर्ण स्वामित्वको एक मात्र बैंक हो । सातै प्रदेश र ७७ जिल्लाका सुगमदेखि दुर्गम ग्रामीण भेग क्षेत्रमा यसको बैंकिङ पहुँच छ । हामीले मुख्यतः तीन क्षेत्रमा लगानी गरेका छन् । कृषिमा हाम्रो १५ प्रतिशत लगानी छ । जलविद्युत् र पर्यटनका पूर्वाधारमा पनि राम्रो लगानी भएका छन् । यसबाहेक साना तथा मझौला व्यवसायमा पनि कर्जा कारोबार छ ।
अन्य बैंकभन्दा आधार दर न्यून भएकाले यसबाट नेपाली उद्यमी, व्यवसायी र कृषकले प्रशस्त लाभ पाएका छन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सीईओ श्रेष्ठले भने ।
सबैभन्दा पुरानो र सरकारी बैंक भए पनि यसवर्षको मुनाफा १२ प्रतिशतमा सीमित भएको उनले बताए । श्रेष्ठले थपे, ‘गत वर्षको तुलनामा यस वर्षको मुनाफा बढी हुन सकेन । यो वर्ष निक्षेप संकलन अभाव भयो । महँगो ब्याजदरमा निक्षेप लिनुपर्यो । मुद्दतीमा १३ प्रतिशतसम्म पर्यो । नेपाल राष्ट्र बैंकले स्प्रेड दर ४.४ बाट तल झारेकाले पनि यस वर्ष ऋणप्रवाह योग्य फन्ड पर्याप्त हुन सकेन । त्यस कारण वाणिज्य बैंकतर्फ हामी मुनाफामा दोस्रो स्थानमा रह्यौं ।’
निजी वा संयुक्त लगानीका बैंकभन्दा सेवा, ब्याजदर र पहुँचमा कम हुन नदिने गरी काम गरिरहेको पनि उनले औंल्याए । श्रेष्ठले भने, ‘सरकारी बैंक वा वित्तीय निकायका सम्बन्धमा नेगेटिभ ट्यागलाइन छ । त्यसलाई हामी प्रविधिमैत्री बनाउने कोसिसमा छौं । ढड्डा प्रणाली (म्यानुअल) बाट अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयरमार्फत सेवा प्रवाह गर्नका लागि अन्तर्राष्ट्रिय टेन्डरमा जान लागेका छौं । निजी वा संयुक्त लगानीका अरु बैंकभन्दा सेवा, ब्याजदर, पहुँचमा कम हुन दिँदैनौं ।’
राष्ट्रिय वाणिज्य बैंकलाई नयाँपन दिन ८ सय ३६ नयाँ कर्मचारी भर्ना गरिएको पनि सीईओ श्रेष्ठले बताए । उनले भने, ‘बैंकिङ क्षेत्र निकै प्रतिस्पर्धात्मक छ । नयाँ जनशक्ति र नयाँ संस्कृति निर्माणका लागि हामीले ८ सय ३६ नयाँ कर्मचारी भर्ना गरेका छौं । यसबाट हामी छिटो, छरितो र स्तरीय सेवा दिन सक्षम हुनेछौं । यो हाम्रो प्रतिबद्धता पनि हो ।’
राष्ट्रिय वाणिज्य बैंक अरु बैंकभन्दा पृथक रहेको दाबी पनि उनले गरे । श्रेष्ठले भने, ‘स्वामित्वको दृष्टिकोणले हाम्रो बैंक फरक छ । सरकारको पूर्ण स्वामित्व भएकाले सरकारको नीति, कार्यक्रम अन्तर्गत रहेर काम गर्नुपर्छ । ग्रामीण इलााका, दूरदराजसम्म फैलिएको छ । ५० प्रतिशतभन्दा बढी लगानी साना तथा मझौला कर्जामा छ । ३८ लाख ५० हजार ग्राहक छन् ।’
ग्रामीण क्षेत्रमा स्वास्थ्य, शिक्षाका साथै वित्तीय साक्षरता र पहुँच पुर्याउने काम गरिरहेको पनि श्रेष्ठले बताए । उनले भने, ‘सामाजिक उत्तरदायित्व अन्तर्गत मुनाफाको १ प्रतिशत खर्च हुन्छ । सातै प्रदेशमा १०–१० प्रतिशत खर्च गरिरहेका छौं ।’ बैंकको ३० प्रतिशत सेयर सर्वसाधारणमा प्रवाह नभएको पनि उनले औंल्याए ।
सरकारी बैंकमा माथिको भनसुन या दबाब कत्ति आउँछ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, स’रकारी बैंक भएकाले ऋण र ब्याज छुटका लागि दबाब आउँदै आउँदैन भन्न त मिल्दैन । अनुरोधका रुपमा मर्का परेको छ, एकपल्ट हेरिदिनोस्, छिटो गरिदिनुस् आदि भन्नु स्वाभाविक पनि हो । तर हामी नीति, नियम र प्रक्रियामा जान्छौं, कसैबाट प्रभावित भएर ऋण दिँदैनौं । ब्याज छुट दिँदैनौं । पारदर्शी ढंगले काम गर्छौं ।’
प्रतिक्रिया