काठमाडौँ । मधेश प्रदेशका दुई स्वतन्त्र सांसद जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
सुरिता साह र प्रमोदकुमार जयसवाललाई अध्यक्ष उपेन्द्र यादवले पार्टीमा प्रवेश गराएका हुन् ।
आज पार्टी अध्यक्षले दुवैलाई खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् । नयाँ सांसद थपिएसँगै मधेश प्रदेश सभामा जसपाको सांसद संख्या १८ पुगेको छ ।
यस्तै, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच एकता प्रक्रिया अघि बढेको छ । दुई पार्टीबीच आइतबारदेखि औपचारिक रुपमा वार्ता प्रारम्भ भएको हो । नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले आइतबारदेखि दुई पार्टीबीच औपचारिक संवाद सुरु भएको जानकारी दिँदै संवादलाई निरन्तरता दिने सहमति भएको पनि बताए ।
पार्टी एकताका लागि यसअघि नै दुबै पार्टीले पार्टी समिति बनाएको थियो भने सोही समितिमार्फत आइतबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाडामा पहिलो बैठक बसेको हो ।
पहिलो वार्तामा पार्टी एकता, वर्तमान र भविष्यको राजनीतिक यात्रा, वार्ता समितिहरुको कार्य जिम्मेवारी लगायत विभिन्न वैचारिक राजनीतिक विषयमा छलफल भएको थियो । यस्तै दुबै पार्टीले एकअर्काका दस्तावेजहरु आदानप्रदान गरेका छन् ।
आजको वार्ता सकारात्मक रहेको र दुई पार्टीबीच सम्वादलाई निरन्तरता दिने सहमति भएको उनले उनको भनाइ छ । वार्तामा नेकपा माओवादी केन्द्रका तर्फबाट वार्ता समितिका संयोजक कृष्ण बहादुर महरासहित गिरिराजमणि पोख्रेल र शक्ति बस्नेत सहभागी थिए भने एकीकृत समाजवादीको तर्फबाट वार्ता समितिका संयोजक बेदुराम भुसालसहित ज्वाला र विजय पौडेलको सहभागिता थियो ।
प्रतिक्रिया