काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो जेठसम्ममा देशभर संगठन विस्तार गर्ने भएको छ ।
आइतबार (हिजो) बसेको केन्द्रीय समितिको बैठकले देशभर संगठन विस्तार गर्ने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले बताए ।
ढकालका अनुसार चैतसम्ममा जिल्ला निर्वाचन समितिहरूको गठन र जेठ मसान्तसम्ममा पालिका र वडास्तरीय समितिहरू गठन गर्ने योजना रहेको छ ।
माघ मसान्तभित्र प्रदेश समितिहरूको विस्तारित भेला आयोजना गरी प्रदेश समितिहरूको पुनर्गठन गनै मिति र स्थान समेत तोकिएको जनाइएको छ ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता पशुपतिशम्शेर जबराले आफ्नो पार्टीका तर्फबाट सार्वजनिक पद धारण गरेका नेता भ्रष्टाचारमा संलग्न भए कारबाही गर्ने बताएका छन् ।
पार्टीको काठमाडौँ निर्वाचन क्षेत्र नं १ द्वारा हिजो आयोजित बागमती प्रदेशका जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा उनले मुलुकमा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्ने उद्देश्यले पार्टी प्रदेश र केन्द्रीय सरकारमा सहभागी भएकाले सार्वजनिक पदमा रहेका नेताले जनताको सेवालाई केन्द्रमा राखेर कार्य सम्पादन गर्नुपर्नेमा जोड दिएका हुन् ।
मुलुकमा विकासको बाधक तत्वका रुपमा रहेको भ्रष्टाचारलाई न्यूनीकरण गरी जनतालाई परिवर्तनको अनुभूति गराउने पार्टीका नीति तथा कार्यक्रम रहेको बताउँदै नेता राणाले आर्थिक लेनदेनका विषय मात्र भ्रष्टाचार नभएर ढिलासुस्ती, बिचौलियाको संरक्षण, अख्तियारीको दुरुपयोगलगायत कार्य पनि भ्रष्ट आचरणको रुप भएकाले त्यसतर्फ संवेदनशील हुनुपर्ने विचार व्यक्त गरेका हुन् ।
पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्रले पञ्चायत कालदेखि सार्वजनिक पद धारण गरेका नेता तथा प्रशासकको सम्पत्ति छानबिन गर्न माग गर्दै पार्टीप्रति जनताको ठूलो विश्वास रहेकाले जनपक्षीय कार्य सञ्चालन गरेर उनीहरूको भरोसालाई कायम राख्नुपर्ने पनि बताए ।
प्रतिक्रिया