काठमाण्डाै। प्रतिनिधि सभाको उपसभामुखको लागि आज चुनाव हुँदैछ । उपसभामुख चयनका लागि आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने भएको छ ।
सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर र विपक्षीबाट नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गराएका छन् । इन्दिरा राना मगरको प्रस्तावकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम तथा समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन रहेका छन् ।
यस्तै मुक्ताकुमारी यादवको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल रहेका छन् । सांसदहरुको सङ्ख्याका आधारमा उपसभामुखमा रानामगरको जित निश्चित देखिन्छ ।
उनको पक्षमा एमालेका ७७, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ सांसद रहेका छन् भने स्वतन्त्र तीन सांसदले पनि साथ दिँदा रानामगरको पक्षमा १६९ सांसद देखिन्छन् ।
यादवको पक्षमा नेपाली कांग्रेसका ८८, एकीकृत समाजवादीका १० र लोसपाका ४ सांसद मात्रै रहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुख र उपसभामुखमा भने प्रतिस्पर्धा गरेको हो ।
प्रतिक्रिया